सम्पादकीय
नेपालका ठूला पार्टीमा पढ्नु लेख्नु भन्दा जेल जीवनलाई भजाएर राजनीतिक पद लिने परम्परा छ । त्यति मात्र होइन पछिल्लो समय धनवाद र डनवाद फस्टाएको छ । राजनीति सङ्लो बनाउनु भन्दा झनझन फोहर बनाउने प्रयास भएको छ । ठूला पार्टीमा फोहरमा रमाउनेहरु हाबी हुन थालेका छन् भने अर्काे तर्फ राष्ट्रिय स्वतन्त्र पार्टीले भने ७ वटै प्रदेशमा स्नातक योग्यता भएकाहरुबाट अनुशासन समितिका लागि खुल्ला आव्हान गरेको छ । पार्टीले पारदर्शी रुपमा स्नातक गरेकाहरुबाट प्रतिस्प्रधा गराउनु राम्रो पक्ष हो । भर्खरै जन्मेका पार्टीले सकेजति नयाँपन दिने प्रयास गरेका छन् तर पुराना पार्टी पुरानै ढर्राबाट चल्न खोज्दैछन् । पुरानै ढर्राबाट मुलुक अघि बढ्न सक्ने अवस्था छैन तर पुराना पार्टीका शिर्ष नेताहरुमा जवाफदेहीता छैन । हुन त नेपाली संस्कारको झलक कहिलेकाही स्वतन्त्र पार्टीमा पनि देख्न पाइन्छ । स्वतन्त्र पार्टीका अध्यक्ष रबी लामिछानेले पार्टीमा देखिएको बेथितीका बारेमा पीडा पोखेका छन् । पार्टी गठन भएको दुई बर्ष बित्दा नबित्दै पार्टीमा देखिएको बेथितीका बारेमा रबी लामिछानेले पीडा पोख्न थालेपछि नेपालको राजनीति संस्कार कस्तो छ भन्ने हुन्छ । नेपाली कांग्रेस र एमाले जस्ता ठूला पार्टीले प्रजातन्त्रका लागि पु¥याएको योगदानले टिकेका पार्टीमा बेथिती बढेको भन्दै व्यापक गुनासो आइरहेका बेला रबी लामिछानेले स्वतन्त्र पार्टी गठन गरेका हुन् । संसदमा राम्रो प्रदर्शन गरेको भन्दै नागरिकले सहना गरिरहेका छन् तर त्यहि पार्टीमा बेथिती देख्दा नेपाली संस्कारलाई दोष जानु स्वभाविकै हो । छोटो समयमै पार्टीले नागरिकको बिश्वास जितेको छ त्यसैले पछिल्लो समय स्वतन्त्र पार्टीमा प्रवेश गर्नेको लहर नै चलेको छ । तसर्थ राजनीतिमा नेपालीपन भनेर हैन केही नयाँ गर्ने गरी काम गर्न जरुरी छ । नयाँपन भएन भने पार्टीलाई बलियो बनाउन सकिदैन । ठूला दलका नेता र कार्यकर्ताले समयमै सोच्न जरुरी छ ।