अराजकता रोक्न कांग्रेसको पहल

सम्पादकीय
नेपाली कांग्रेसको साउन २ गते देखि बसेको केन्द्रिय समितिको बैठकले आन्दोलन गर्दा अराजकता देखाउनेहरुलाई पार्टीबाट हटाउने निर्णय गरेर अराजक भएर राजनीति गर्नेहरुलाई सुधारको बाटोमा जान सन्देश दिएको छ । बिद्यार्थी राजनीति गर्छाै भन्नेहरुलाई गुरुहरुप्रति अमर्यादित भएर प्रस्तुत नहुन यो सन्देश गएको हुुनुपर्छ । क्याम्पसमा राजनीति गर्ने बिद्यार्थीहरुकै कारण त्रिभुवन बिश्वबिद्यालयमा बिद्यार्थी घट्न थालेका छन् । कांग्रेसले गरेको यो निर्णयको सबैतिरबाट सहना भइरहेको छ । गणतन्त्रमा कानूनी राज्यको धज्जी उडाउने काम व्यापक भइरहेको छ । मुलुकमा शान्ति अमनचयन बहाल गर्ने बारेमा सरकारमा बस्नेहरु गम्भिर हुनुपर्ने हो तर कानूनको धज्जी उडाइरहेको अवस्था छ । सत्ताको आडमा दण्डहिनतालाई प्रश्रय दिदा आम नागरिकमा असुरक्षाको वातावरण बन्दै गएको छ । हुलहुज्जडको राजनीति फस्टाउन थालेको छ । अपराधीलाई छुट दिएर दण्डहिनतालाई प्रश्रय दिने नेतृत्वले मुलुकमा शान्ति कायम गर्न सक्ने कुरै भएन । त्रिभुवन विश्वविद्यालयका उप–प्राध्यापक प्रेम चलाउने माथि सांघातिक हमला गर्ने बिद्यार्थीलाई छुट दिने सरकारको निर्णय पछि सबत्र बिरोधको स्वर उठेका थिए । यो मानवता बिरोधी काम हो । प्राध्यापक सुरक्षित छैनन् अनी के को शिक्षा क्षेत्र बलियो हुन्छ ? शिक्षा क्षेत्रमा चरम राजनीति गर्दै आएका राजनीतिक दलका नेताहरुले गणतन्त्रमा झनै व्यतिथी बढाएका छन् । जे होस् कांग्रेसले चालेको यो कदमको सम्मान गर्नु
पर्छ । कांग्रेसले मात्र होइन अन्य राजनीतिक दलले पनि अराजकता मच्चाउने गरी गरिेने राजनीतिलाई निरुत्साहित गर्न कांग्रेसको जस्तै निर्णय जतिसक्यो चाडो गरेर देखाउनुपर्छ । गफले मुलुक चल्न सक्दैन ।