सम्पादकीय
हरेक क्षेत्र अस्तव्यस्त भएको अवस्थामा कताबाट सुधारको काम शुरु गर्ने भन्ने बारेमा समस्या छ । संसदमा सांसदहरुले देशको सरकारी निकायमा कर्मचारीको अवस्था कस्तो छ भनेर प्रश्न गर्न थालेका छन् । आफ्नो कर्मचारीतन्त्रका बारेमा सत्तामा बस्नेहरुलाई थाहा छैन । सामान्य प्रशासन मन्त्रीलाई कर्मचारीको अवस्था थाहा छैन । यस्तो अवस्थामा सरकारी निकाय कसरी चलिरहेका होलान् सहजै अनुमान गर्न सकिन्छ । मन्त्री हुनु भनेको कमिसन खानका लागि मात्र भएको देखिन्छ । सुधारका काम शुरुवात गर्ने आँट कसैले देखाउँदैनन् । आफ्नो देशलाई कुन जनशक्ती आवश्यक छ भन्ने बारेमा सरकारसंग प्रष्ट खाका छैन । देशमा आवश्यक पर्ने जनशक्ती उत्पादन गर्ने बिषयमा प्रष्ट नीति सरकारसंग छैन । विकास निर्माणमा आवश्यक पर्ने प्राबिधिक हुन् या स्वास्थ्य क्षेत्रमा काम गर्ने चिकित्सक र स्वास्थ्यकर्मी हुन् आवश्यक जनशक्ती कति हो भन्ने बारेमा सरकारमा बस्नेहरु प्रष्ट छैनन् । हरेक क्षेत्रमा आवश्यक पर्ने जनशक्ती समयमै उत्पादन गर्ने नीति नभएकै कारण कुनै जनशक्ती बढी र कुनै जनशक्ती अभाव हुने गरेको छ । शिक्षा क्षेत्रमा देखिएको अस्तव्यस्त नीतिले जनशक्ती उत्पादनमा समस्या पैदा भएको छ । नेपालका बरिष्ठ नर्सहरु बिदेश पलायन हुन थालेका छन् । बिदेश जाने अवस्था यहि रहयो भने नेपालका अस्पतालमा सेवा दिने नर्स पाइने अवस्था छैन । नर्सिङ पेशालाई म¥यादित र सम्मानित बनाएर सरकारले नर्सलाई बिदेश जान रोक्ने नीति बनाउँन जरुरी छ । तसर्थ सत्तामा गएर मोज मस्ती गर्नुभन्दा देश र जनताको पक्षमा काम गर्न जरुरी छ । जनभावना अनुसार काम नगर्ने हो भने जनताले दण्ड दिन जरुरी छ । प्रजातन्त्र र गणतन्त्रका कुरा गरेर जनतालाई ठग्ने काम बन्द गर्नुपर्छ । बोल्ने र लेख्ने अधिकारका लागि लडेको कतिञ्जेल भजाउने ? राष्ट्रियताको सवालमा समेत मुलुक कमजोर अवस्थामा पुगेको छ । जनता सचेत हुन जरुरी छ । भोट दिदा राम्रो र नराम्रो छुट्याउन सक्ने क्षमताको विकास गर्न जरुरी छ ।