आत्मरक्षा र धर्मरक्षाका लागि ब्राह्मण समाज बनायौं : अधिकारी

टीकापुर, १८ पौष/ब्राह्मण समाजका केन्द्रीय अध्यक्ष डाक्टर नारायणप्रसाद अधिकारीले आत्मरक्षा र धर्मरक्षाका लागि ब्राह्मण समाज बनायौं भन्नुभयो । यस्तो कुरा अधिकारीले मंगलवार टीकापुरमा भएको ब्राह्मण समाज नेपाल कैलालीको दोस्रो अधिबेशन उद्घाटन गर्दै भन्नुभएको हो । उहाँले संबिधान निर्माण गर्ने क्रममा अन्य जातीमा राख्ने प्रयास भएको भन्दै मठ मन्दिर र पूजारीको अपमान गर्ने काम भएको बताउनुभयो । अधिकारीले ब्राह्मण भनेको ज्ञान सिकेर अरुलाई सिकाउने मानिसलाई भन्ने गरिएको बिश्लेषण गर्नुभयो । ‘‘ब्राह्मण भनेको जात होइन, ज्ञान हासिल गरेको , अरुलाई ज्ञान दिन सक्ने क्षमता भएको मानिस हो’’, केन्द्रीय अध्यक्ष अधिकारीले भन्नुभयो, ‘‘ज्ञान सिकाउने, अरुलाई शिक्षा दिने, अरुलाई सेवा गर्ने मानिस ब्राह्मण हो । जस्तै डाक्टर, इञ्जिनियर जसले शिक्षा र सेवा दिइरहेका छन् । यी ब्राह्मण हुन् । ’’


अध्यक्ष अधिकारीले ब्राह्मणमा विभेद समेत नरहेको बताउनु भयो । ‘‘जहाँ विभेद गरिन्छ, त्यहाँ अज्ञानता छ । हामीकहाँ महिला लाई सम्मान गरिन्छ, विभेद गरिदैन, वेद महिलाले पढ्न हुँदैन भन्ने गलत हो, लेख्न समेत थालेका छन् ’’, उहाँ भन्नुहुन्छ, ‘‘अहिले समाज धेरै बदलिएको छ । हामीले छोरीलाई समान अवसर र अधिकार दिएका छौँ, आजभोलि छोरीको ब्रतबन्ध गरिन्छ । केही परिवारले शुरु समेत गरेका छन् । ’’
डाक्टर अधिकारीले आत्मरक्षा र धर्मको रक्षाका लागि ब्राह्मण समाज गठन भएको बताउनु भयो । यसका साथै देशलाई जातीय द्वन्द्वबाट जोगाउन ब्राह्मणहरु संगठित हुनुपरेको बताउनुभयो ।
उहाँले ब्राह्मण थर भएका गरिबमाथि अन्याय भइरहेको प्रसँगमा भन्नुभयो, ‘‘धनी अन्य जातिले सुविधा र आरक्षण पाउँदा गरिब बाहुन हेरिरहेको र पीडा महसुस गरिरहेको छ । यो राम्रो भयो त । त्यसैले यसमा सुधार गर्नुपर्छ । ’’
कार्यक्रममा समाजका केन्द्रीय उपाध्यक्ष विष्णुदत्त भट्टले धर्म रक्षा र पहिचानका लागि ब्राह्मणहरु एक ढिक्का भएर समाज गठन गर्न वाध्य भएका बताउनुभयो ।
केन्द्रीय महासचिव ओम शर्मा चापागाईले सनातन धर्म र समाजमा रहेको विद्यमान सहिष्णुता कायम राख्न ब्राह्मण समाज चाहिएको बताउनुभयो । ‘‘हामीले समाजमा एकबद्ध भएर मुलुकलाई जातीय र धार्मिक संघीयता हुनुबाट जोगायौँ,अझैँ धेरै गर्न बाँकी छ’’, उहाँले भन्नु भयो, ‘‘सनातन धर्मसँग जोडिएका कुराहरु रक्षा गर्ने दायित्व हाम्रो हो । ’’
केन्द्रीय सचिव हिरण्य तिमिल्सिना ले धर्म संस्कृतिको रक्षासँगै बाल बालिकालाई सत्मार्ग देखाउन आवश्यक रहेको बताउनुभयो । ‘‘हामी ब्राह्मण भन्ने तर बानी ब्राह्मणको जस्तो नहुने हो भने त्यो ब्राह्मण होइन, आफ्ना बानी र व्यवहार पनि ब्राह्मणको जस्तो बनाउनुपर्छ’’,उहाँले भन्नुभयो ।
ब्राह्मण समाज कैलालीका अध्यक्ष रामप्रसाद रिमालको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत जिल्ला उपाध्यक्ष मिहिलाल उपाध्यायले गर्नुभएको थियो भने सञ्चालन सचिव नारायणप्रसाद तिमिल्सिनाले गर्नुभएको थियो ।
कार्यक्रममा जेष्ठ नागरिक तथा सामाजिक ब्यक्तित्व रामकृष्ण मुडभरी, रामनाथ उपाध्यायलाई दोसल्ला ओढाई सम्मान गरिएको छ ।
अधिवेशनमा कैलाली जिल्लाका १३ वटा पालिकाबाट प्रत्येक वडाबाट तीन जनाका दरले प्रतिनीधि सहभागी भएका थिए । ब्राह्मण समाज २०६९ सालमा गठन भएको हो । यस अघि देशभर गठन भएका ब्राह्मण सेवा समाज बिघटन गरी ब्राह्मण समाज नेपाल नामाकरण गरिएको हो । ऋषि परम्परा र संस्कृतिको पालना एंव जगेर्ना गर्ने र राष्ट्र र राष्ट्रियताको लागि देशभक्ति भावना जागृत गराउने मुख्य उदेश्य समाजको रहेको छ ।

ब्राह्मण समाजको अध्यक्षमा रिमाल

 ब्राह्मण समाज कैलालीको नयाँ नेतृत्व चयन भएको छ ।
समाजको अध्यक्षमा रामप्रसाद रिमाल निर्विरोध निर्वाचित हुनु भएको छ । समाजको उपाध्यक्षमा रमानन्द जोशी, सचिवमा देवीलाल जोशी, सह सचिवमा कृष्णराज ओझा, कोषाध्यक्षमा मुत्तिनाथ रेग्मी चयन हुनुभएको छ ।
त्यसैगरी समाजको सदस्यमा टेकराज पन्त, चिरञ्जीवी ढुंगाना, शंकर प्रसाद सञ्याल, लालमणि जोशी, रामचन्द्र शर्मा, तारा प्रसाद अधिकारी, सिद्धराज ओझा, देवीला शर्मा, होमनाथ उपाध्याय र जनक कुमार आचार्य चयन हुनुभएको छ ।
यसैगरी कर्मकाण्डिय संस्कारमा शास्त्रीय बिधि अनुसार एकरुपता कायम गर्ने , बैद्धिक सनातन हिन्दु राष्ट्रको जगेर्ना गर्ने, गाई, गंगा (नदीहरु)  गायत्री र गीताको उपासना एंब संरक्षण गर्नु समाजको उदेश्य रहेको समाजका सदस्यहरुको भनाई  छ । जातीय, धार्मिक लैगंीक, भौगोलिक सद्भावमा बृद्धि ल्याउन र सनातन बैद्धिक मर्यादा अनुसार जातीय भेदभाव अन्त गरी संस्कारमा एक रुपता ल्याउन समाजले पहल गर्ने उदेश्य रहेको छ ।
शास्त्रीय बिधि अनुरुप मठ मन्दिरमा देबी देवताहरुको पूजाआजा गर्न पनि समाजले भूमिका खेल्ने जनाइएको छ ।