आर्दशका कुरा मात्र

सम्पादकीय
नोपलको राजनीतिमा आदर्शका कुरा बढी गर्ने तर व्यबहारमा खराव आचरण प्रदर्शन गर्दा नागरिकमा गणतन्त्रप्रति नै बितृष्णा बढ्न थालेको छ । गणतन्त्रका बिरुद्ध खुलेर आवाज उठ्न थालेको छ । नागरिकले गणतन्त्र नै समस्या हो भनेर बुझ्न थालेका छन् । राजनीतिक दलका नेताहरुले जनतासंग आदर्शका बिचार सुनाउने गरेका छन् तर सत्तामा गएपछि आफ्नो स्वार्थको कुरा मात्र गर्छन् । देश र जनताका लागि पार्टीको बिचार प्रमुख कुरा हो । पार्टीको बिचारलाई प्रमुखतामा राखेर राजनीतिक दलका नेता र कार्यकर्ताले काम गर्ने हो भने मात्र मुलुकले गति लिन्छ । बिचार एउटा काम अर्काे भएपछि कसरी व्यबस्था चल्छ ? व्यबस्थामा बिकृती मात्रै थपिने हो भने जनताले व्यबस्था बिरद्ध आवाज उठाउनु गलत हुँदैन । प्रजातन्त्रवादीहरुले वीपीको नाम लिनुलाई गर्बको रुपमा लिने गरेका छन् भने कम्युनिष्ट बिचारलाई आदर्श मान्ने देशको ठूलो पार्टी एमाले मदन भण्डारीको नाम लिनुलाई गर्बको रुपमा लिन्छ । यी दुबै थरी कार्यकर्ताहरुले देशलाई बिचार दिएको आधारमा नेताहरुको सम्मान गर्नु राम्रो पक्ष हो ।बीपी र मदनलाई भाषण गर्दा मात्र सम्झने गरिएको छ । कार्यक्रम गर्दा फोटो राख्ने ,कुरा आदर्शका गर्ने र नेताहरुले बनाएको बाटो हिड्ने बेला नहिड्ने । वीपी र मदनप्रति आस्था भएकाहरुले समाजमा राम्रो काम गर्नुको साटो कतिपय लुट्नमा व्यस्त छन् । व्यापारी मानसिकता भएकाहरु कसरी बीपी र मदनका अनुयायी हुन सक्छन् ? पार्टीमा भ्रष्टहरु हाबी भएका छन् । माफिया र भ्रष्टहरुको बोलवाला छ यस्तोमा सादगी नेता र कार्यकर्ता चुपचाप बस्न बाध्य छन् । कांग्रेस र एमालेमा अराजकहरु हाबी हुँदा सिंगो देश र जनताले दुख पाएको कुरा प्रष्ट छ तर सच्याउन कोही तयार छैन । तसर्थ राजनीतिक दलमा रहेका इमान्दार नेता र कार्यकर्ता एक भएर देश र जनताको बारेमा सोच्न जरुरी छ । इमान्दार नेता र कार्यकर्ता एक भएर नसोच्ने हो भने मुलुक संकटमा पर्छ । देश अर्काले बनाइदिने होइन आफै बनाउने हो । आफैं बनाउने हो भने किन समयमै सचेत नहुने ?