आलू र प्याजमा कर

सम्पादकीय
बर्तमान सरकारले आलू र प्याजमा भ्याट लगाएको सुन्दा एकछिन नराम्रो नलाग्ला तर हुनुपर्ने यहि हो । आलू र प्याज नेपालमा उत्पादन गर्न सकिन्छ,भारत बाट सजिलै ल्याउन पाएपछि नेपालीले खेती गर्ने कुरै भएन । आफ्नो उत्पादनका बारेमा ध्यान नदिंदा आलू प्याज पनि अर्काकै भरमा पर्न थाल्यौं । नेपाली किसानले उत्पादन गरेको आलू, प्याजले मुल्य नपाउने अनी भारतको आलू र प्याज फालाफाल हुँदा परनिर्भरता बढ्दै गयो ।परनिर्भरता घटाउन भारतको आलू र प्याज कम गर्न जरुरी छ । नेपाली किसानलाई प्रोत्साहन गरेर आलू र प्याज उत्पादन गर्न लगाउन जरुरी छ । आलू र प्याज खेति गर्न खासै समस्या छैन ।प्रबिधी छ ,केवल कोल्डस्टोरको आवश्यक छ । सरकारले ठाउँ ठाउँमा कोल्डस्टोर निर्माण गर्ने हो भने किसानले आलू मनग्य उत्पादन गर्न सक्छन् । यसरी उत्पादन भएको आलू र प्याजको मुल्य पाउने हो भने किसानको आम्दानी बढ्ने निश्चित हो । किसानको आम्दानी नबढाउँदासम्म देशको कुल उत्पादन बढ्न सक्दैन । नेपालको अर्थतन्त्र आयातमा निर्भर हुँदा मुलुक संकटमा पर्न थालेको      छ । अर्थतन्त्र डगमगाएको अवस्था छ । यस पटक आयातबाट उठ्ने राजश्व कम हुँदा अर्थतन्त्र संकटमा छ । बिदेशबाट सामान आउने र त्यहि सामानबाट उठ्ने राजश्वले मुलुक चलाउन पल्केका नेताहरुको होस आएको हुनुपर्छ । प्रजातन्त्र र गणतन्त्र आएपछि हरेक अर्थमन्त्रीले अर्थतन्त्र बलियो भएको जनतालाई भनिरहे । हरेक अर्थमन्त्रीले भनेझै अर्थतन्त्र बलियो भएको भए यो अवस्था किन आयो ? आर्थिक बर्ष २०७९÷०८० मा आयात १८ प्रतिशत घटेको छ भने राजश्व असुली अघिल्लो बर्षको तुलनामा १२ प्रतिशत भन्दा बढीले घटेको छ । सरकारमा बस्नेहरुले किसानलाई हेरेर नीति बनाउन जरुरी छ आफ्नो उत्पादन बढाउने नीति बनाउन कठोर हुनुपर्छ त्यसका लागि मन्त्री तयार पनि हुनुपर्छ । सस्तो लोकपृयताले समस्या समाधान गर्दैन ।