उद्घाटन कार्यक्रममा भूमिका नदिएकोमा जल उपभोक्ता संस्थाको आपत्ति

–एकेन्द्र तिमिल्सेना–
टीकापुर, १५ साउन/कुलरिया रानी जमरा कुलरिया सिँचाई प्रणाली जल उपभोक्ता संस्थाले सिँचाइ आयोजना र विद्युत गृहको उद्घाटन कार्यक्रममा संस्थालाई कुनै भूमिका नदिएकोमा आयोजक प्रति खेद प्रकट गरेको छ ।
बुधबार टीकापुरमा पत्रकार सम्मेलन गरी संस्थाले सिँचाइ प्रणालीका ३२ हजार घरधुरी भएका लाखौं किसानहरूको साझा स्वामित्व लिई प्रतिनिधित्व गर्ने जल उपभोक्ता संस्थाको भावनामा चोट पुगेको बताएको छ ।
संस्थाका अध्यक्ष कुमारराज शाहीले रानी जमरा कुलरिया सिँचाई आयोजनासँग ११ वटा समस्या र मागहरू रहेको जानकारी दिनुभयो ।
अध्यक्ष शाहीले संस्थाले २०८२ भदौ भित्र विद्युत पावर हाउसको साझेदारीको रूपमा रहेको संघीय प्रादेशिक तथा स्थानीय सरकारको साझा हक अधिकारको सूचीमा जल उपभोक्ता संस्थालाई समावेश गर्ने गरी जलविद्युतको मोडालिटी निर्माण गर्ने गराउने, दोस्रो फेजको सामाजिक परीक्षण, सार्वजनिक सुनवाई कार्यक्रम यसै आर्थिक वर्षको मासिक भित्र सञ्चालन गर्ने, सेटलिङ बेसिन र विद्युतगृहबाट निस्केको बालुवा जल उपभोक्ता संस्थाले प्रयोग र बिक्री वितरण गर्न पाउने नीति बनाउन पहल गर्नुपर्ने, विद्युत गृह मर्मत गर्दा मूल नहर बन्द गर्नुपर्ने भएकाले बाइपासबाट पानी सञ्चालन हुने संरचना निर्माण गर्नुपर्ने, सिँचाइ नीति २०८० अनुसार भूमिकरसँग सिँचाइ सेवा शुल्कलाई संलग्न गरी नीतिगत व्यवस्था गर्न माग गर्नुभयो ।
अध्यक्ष शाहीले झरही नालामा पानीको बहाव बढ्दा नदी कटान र डुबानको समस्या हुने तर  पूर्वी तटमा रहेको बर्दिया राष्ट्रिय निकुञ्ज वन्यजन्तुका लागि पानी र गेरुवा क्षेत्रमा कुला सुख्खा हुने भएकोले पानीको वहावलाई नियन्त्रण र व्यवस्थापन गर्नुपर्ने,सिँचाइ आयोजनाको टेन्डर बाट बाँकी रहेका निर्माण व्यवसायी ले गर्न नसकेका निर्माण कार्य र  पुरानो सुधार गर्नुपर्ने संरचनाको निर्माण कार्य अघि बढाउने सिंचित क्षेत्र बचाउ कार्यक्रम अन्तर्गत कर्णाली मोहना पथरैया र बौलाहा रोरामा तटबन्द कार्य गराउनु पर्ने बताउनुभयो ।
बाहिरबाट आयोजनामा कार्यरत यस संस्थाको कालोसूची मा रहेका दोस्रो प्राथमिकताका दैनिक ज्यालादारी र करार कर्मचारीहरूलाई एक हप्ताभित्र हटाई प्रथम प्राथमिकीकरणलाई अवसर प्रदान गर्न माग गर्नुभयो । संस्थाले विद्युतमा साझेदारी बालुवाको प्रयोग लगायतका विषयमा विभाग र मन्त्रालयमा पटकपटक निवेदन दिँदा पनि कुनै सुनुवाई नभएकाले प्रधानमन्त्री लाई नै समस्या सुनाउन चाहेकोमा सो अवसर नदिएकोमा दुःख व्यक्त गरेको हो । सिँचाई प्रणाली र विद्युतको प्रधानमन्त्री केपी शर्मा ओलीबाट उद्घाटन सम्पन्न भएकोमा गर्दै खुसी व्यक्त गर्दै ज्ञापन गरेको छ ।
आयोजक सिचाई विभागले मूल कुला समितिका अध्यक्ष कुमार  राज शाहीले मन्तव्य राख्ने कार्यतालिका बाँडे पनि पछि समयअभाव भन्दै केही मन्तव्यहरु हटाएको   थियो ।