उपचार नपाएर मर्नुपर्ने बाध्यता

सम्पादकीय
गणतन्त्रका नाममा जनता लुट्ने तर देशको बारेमा चिन्ता नगर्ने प्रबृत्तिकै कारण मुलुक दिनप्रतिदिन संकटमा पर्दै गएको छ । नागरिकलाई कानूनको डण्डा देखाउने अनी आफु राजा भएर शाषन गर्ने यो गणतन्त्रमा बिकृती घट्नुको साटो बढ्दै गएको छ । नेकपा माओवादीका नेता महेश बडुवालको निधन भएको छ । स्वभाविकै निधन भएको भए घरपरिवारले पनि चित्त बुझाउने थिए । निमोनियाबाट एउटा बयस्कको ज्यान गयो । निमोनिया उपचार गर्न सक्ने अस्पताल सुदुरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशमा भेटिएन । निमोनिया भएको बिरामी उपचार नपाएको कुरा परिवारको बिषय मात्र हुने कुरै भएन । एउटा युवा राजनीतिज्ञले अनाहकमा ज्यान गुमाएको छ । परिवारलाई पीडा त छदै छ सिगाें सुदुरपश्चिम पीडामा छ । एकातिर एउटा युवा राजनीतिज्ञको निधन अर्काे तर्फ नेपालको स्वास्थ्य सेवाको अवस्थाले नागरिकलाई चिन्तित बनाएको छ । गम्भिर प्रकृतिको उपचार झन कस्तो अवस्था होला ? गणतन्त्र त आयो तर नागरिक उपचार नपाएर मर्नुपर्ने बाध्यता छ । उपचार गर्न राजधानी लैजान पनि त्यति सहज छैन । समयमै उपचार गर्न लैजानका लागि सडकको अवस्था पनि नाजुक छ । भएभरको सुबिधा राजधानी केन्द्रित गर्ने अनी सडक पनि गतिलो नबनाउने भएपछि नागरिकले सेवा लिन सक्ने कुरै भएन । अहिले यो घटना बडुवाल परिवारका लागि मात्र होइन । समग्र सुदुरपश्चिमबासी गम्भिर हुन जरुरी छ । माओवादीका नेता बडुवाल सादगी नेता हुन् । जनयुद्धमा लगानी गरेको युवा उपचार नपाएर मर्नुपर्छ भने गणतन्त्र कसका लागि हो ? देशको अवस्था सुधार होला भनेर कसैले प्रजातन्त्रका लागि त कसैले गणतन्त्रका लागि ज्यानको बाजी लगाएर संघर्ष गरे तर यसरी संघर्ष गरेकाहरु नै उपचार नपाएर मर्नु भनेको यो भन्दा दुखद बिषय अरु के होला ? तसर्थ सुदुरपश्चिमबासीले सुदुरपश्चिमको अस्पताललाई बलियो बनाउन जरुरी छ । एउटा अस्पतालमा सबै खाले अहिलेको युग अनुसारका औजारको व्यबस्था सहित चिकित्सकको व्यबस्थामा ध्यान दिन जरुरी छ । हाम्रो समाजमा अरु बजेटका बारेमा ध्यान दिन्छौ तर अस्पताल बलियो हुनुपर्छ भन्ने गरी बिचार राखेको कमै पाइन्छ । तसर्थ गणतन्त्रका शाषकले सुदुरपश्चिमबासी जनताको स्वास्थ्यलाई ध्यान दिन जरुरी छ । एउटा होनवार युवाले ज्यान त गुमाए यो घटनाबाट राज्यले पाठ सिक्न जरुरी छ । नेताहरु आफु बिदेश गएर उपचार गर्ने । एयर एम्बुलेन्सबाट दौडादौड गर्ने अनी सुदुरपश्चिमको एउटा होनहार उपचार नपाएर ज्यान गुमाउछ । यस्तो व्यबस्था धेरै टिक्दैन । समयमै ध्यान दिन जरुरी छ ।