उपभोक्ताको रक्षा गर्न नगरपालिकालाई ध्यानाकर्षण पत्र बुझायो

टीकापुर, १५ जेठ/प्रदेश र संघका नियामक निकायले टीकापुरका पाँच वटा पसलको अनुगमन गर्दा पाँच वटैमा कैफियत देखिएको भन्दै उपभोक्ता हित संरक्षण मञ्च टीकापुरले नगरका बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समितिका संयोजक उपप्रमुख खडकबहादुर शाहको ध्यानाकर्षण गराएको छ ।
लामो समय देखि बजार अनुगमन नहुँदा बजारमा अखाद्य बस्तु मिसाएका खानेकुरा, म्याद नाघेका खानेकुरा निर्वाध बिक्री वितरण भैरहेका छन् । शुक्रबार भएको अनुगमनले यस्तै अवस्था देखाएको छ ।
संविधानतः स्थानीय सरकारको एकल अधिकार रहेको स्थानीय बजार व्यवस्थापन गर्नु नगरपालिकाको दायित्व भएपनि पालिकाले निरन्तर बजार अनुगमन नगर्दा यस्तो समस्या आएको मञ्चको बुझाई छ । निरन्तर बजार अनुगमन गर्नुपर्ने, आम उपभोक्ताका लागि उपभोक्ता जागरण कार्यक्रम ल्याउनु पर्ने, नगरपालिकाले बनाएका उद्योग, बजार व्यवस्थापन संग सम्विन्धित ऐन कानूनहरु लागू गराउनुपर्ने माग गर्दै मञ्चका अध्यक्ष एकिन्द्र तिमिल्सेनाले ध्यानाकर्षण पत्र बुझाउनु भएको छ ।


यस्तै उपभोक्ता हितको रक्षा गर्न यसअघि लिखित र मौखिक रुपमा दिएका सुझावहरु बेवास्ता गरेको भन्दै विभिन्न विषयमा पुनःस्मरण गराएको छ ।
स्मरण गराइएका विषयमा टीकापुरमा दुध र दुधजन्य पदार्थको मूल्य र गुणस्तर कायम हुनुपर्ने, पेट्रोल पम्पमा नपाइने तर पसलमा कालोबजारी गरेको पेट्रोल महंगोमा किन्नु पर्ने अवस्थाको अन्त्य गर्नुपर्ने, टीकापुरमा सञ्चालित रिक्शाहरु को भाडादर कायम हुनुपर्ने, केरा लगायतका स्थानीय उत्पादनको किसानले पाउने मूल्य र उपभोक्ताले किन्ने मूल्यबीचको अन्तर निश्चित हुनुपर्ने, केरा पकाउने च्याम्बर चलाउन लगाउनु पर्ने र सामुदायिक कुकुरहरु नियन्त्रण गर्नुपर्ने रहेका छन् ।
ध्यानाकर्षण पत्रमा आम उपभोक्ताका विषयमा घरदैलोकै सरकार जिम्मेवारीबाट पन्छिएर उपभोक्तालाई अभिभावक विहिनताको अवस्थामा नराख्न पनि अनुरोध गरिएको छ ।
नगरपालिकाले लामो समय बजार अनुगमन नगरेको र उपभोक्ता लाई सहज हुने सामान्य काम पनि नगरेकाले ध्यानाकर्षण गराएको मञ्चका सचिव शेरबहादुर विष्टले बताउनुभयो ।