उपभोक्ता अधिकार संरक्षण,बस्तु तथा सेवाप्रदायक निकाय जिम्मेवार बन्नुपर्ने

दुर्गा देवकोटा

टीकापुर, २९ बैशाख/टीकापुरकी शुशिला श्रेष्ठले सामान किन्दा कहिल्यै मूल्य र म्याद हेर्ने गर्नुभएको छैन । उहाँ ब्यापारीले भनेकै दरमा किन्ने, यसरी सामान किन्दा कहिलेकाही ठगिएको अनुभव छ । उहाँले ब्यापारीलाई विश्वास गर्दा सडेको चामल खानुपरेको छ । ‘सडेको चामल दुई पटक खानुपरेको छ । घर लगेर कट्टा खोलिहालेपछि फिर्ता गरिएन’,उहाँले भन्नुभयो, ‘आफू लाई जानकारी नहुँदा ठगिने डर हुन्छ । हामी हेर्न जान्दैनौँ । ब्यापारीले मनपरी गरे ठगिने जोखिम छ ।’
लेखपढ गर्न नजान्ने भीमबहादुर विश्वकर्माले पनि कहिल्यै दररेट र म्यादबारे जानकारी पाउनु भएको छैन । ब्यापारीकै मुख हेरेर उहाँले सामान किन्नुहुन्छ । उहाँले अहिलेसम्म कहिल्यै बील समेत माग्नुभएको छैन ।


कोही उपभोक्ताले ख्याल नगरेपनि कोही उपभोक्ता सचेत छन् । टीकापुरकी लक्ष्मी बजगाइले भने मूल्य हेरेर, सोधेर, सामानको गुणस्तर हेरेर किन्ने गर्नुभएको छ । ‘म जहिले पनि हेरेर, बुझेर मात्र सामान किन्छु, धेरै सामान किन्दा बील पनि माग्छु, पछि घर गएर पनि हेर्न मिलोस् भनेर’, उहाँले भन्नुभयो, ‘खाने कुरामा लापरवाही गर्ने कुरा भएन ।’
महेन्द्र शाही समेत सामान किन्दा सचेत हुनुहुन्छ । उहाँले पनि सामान किन्दा म्याद हेर्ने, सोधपुछ गर्ने गर्नुभएको छ ।
उपभोक्ता अधिकार संरक्षणमा बस्तु तथा सेवाप्रदायक निकाय जिम्मेवार बन्नु पर्ने आवश्यकता छ । उपभोक्ताको अधिकारका लागि सेवा प्रदायक सँगै उपभोक्ता समेत जागरुक बन्न आवश्यक छ । बस्तु तथा सेवा प्रदायक निकायको गैर जिम्मेवारपन र अनुचित ब्यापारिक क्रियाकलाप भएमा उपभोक्ता ठगिने जोखिम रहन्छ । उपभोक्ता ठगिने जोखिमबाट जोगाउन सरकारले पनि सचेतना फैलाउन आवश्यक छ ।
खड्का पसलका सञ्चालक भरत बहादुर खड्का विगतलाई हेर्ने हो भने पछिल्लो समयका उपभोक्ता सचेत बन्दै गएका बताउनुहुन्छ । ‘विगतका जस्तो छैन । उपभोक्ता निकै सचेत छन् । हरेक सामान सोधीखोजी गरेर किन्छन्’, उहाँले भन्नुभयो, ‘बील लिन्छन् । १ केजी चिनी किन्दा पनि बील माग्नेहरु छन् । हामी पनि लापरवाही गर्दैनौँ । हामी पनि जिम्मेवार छौँ ।’
अर्का ब्यापारी चपाई जनरल स्टोरका सञ्चालक उदयराम चपाई उपभोक्ता मात्र नभइ आफहरु स्वयम सचेत रहेका बताउनुहुन्छ । उहाँ जानेका उपभोक्ताले मूल्य र म्याद हेर्ने, नजानेकालाई आफूहरुले भनीदिने गरेको बताउनुहुन्छ । ‘पढेलेखेकाहरु ले सबै हेरेर किन्छन्, हेर्न नसक्ने लाई हामीले भनिदिने गरेका छौँ । म्याद यति बाँकी छ । यहाँ बनेको हो जस्ता कुरा भनिदिन्छौँ’, उहाँले भन्नुभयो, ‘‘बच्चाका खानेकुरा छिटो बिग्रन्छन्, हामी धेरै राख्दैनौँ, किन्छौँ, सकिएपछि फेरि मगाउँछौँ, म्याद गुज्रन थालेमा अलग्गै राखेर फिर्ता पठाउँछौँ ।’
बस्तुको बिक्री गर्दा पहिलो जिम्मेवार बिक्रेता हुने भएकाले सामान बिक्री गर्दा सामानका बारेमा उपभोक्तालाई ब्यापारी ले जानकारी दिनुपर्ने हुन्छ । सामान किन्दा गुणस्तरीय नभएमा उपभोक्ताले फिर्ता गर्न पाउने अधिकार भएकाले उपभोक्ता पनि सचेत हुन आवश्यक रहेको उपभोक्ता हीत संरक्षण मञ्च टीकापुरका अध्यक्ष एकिन्द्र तिमिल्सिनाले बताउनुभयो । ‘बिक्रेता, क्रेता सबै जिम्मेवार बन्नुपर्छ । आफूले खाने र प्रयोग गर्ने कुरामा उपभोक्ता अझ बढी सचेत बन्नुपर्छ’’, उहाँले भन्नुभयो, ‘ब्यापारीलाई त अझ लापरवाही गर्ने मौका नै छैन । मानिसको स्वास्थ्यसँग जोडिएको कुरा भएकाले ज्ञान भएको मानिसले मात्र व्यवसाय गर्नुपर्छ ।’
अध्यक्ष तिमिल्सिना बिक्रेता र सरकार जिम्मेवार बन्ने र उपभोक्ता सचेत हुन आवश्यक छ । व्यवसाय सञ्चालन गर्नेहरु जानकार हुनुपर्ने, मूल्य, म्याद हेर्न जान्ने हुनुपर्ने भएकाले सरकारले यस्ता कुरामा ध्यान दिनुपर्ने, उपभोक्ताले समेत सामान किन्दा, तयारी खानेकुरा खाँदा सचेत हुनुपर्नेमा जोड दिनुहुन्छ ।
टीकापुर नगरपालिका आर्थिक विकास शाखा प्रमुख नन्दबहादुर केसी पालिकाले उपभोक्ता अधिकारका क्षेत्रमा काम गरिरहेको बताउनुहुन्छ । केसीका अनुसार पालिकाले उपभोक्तालाई सचेत गराउने, जनचेतना जगाउने, अनुगमन गर्ने र गल्ती गर्नेलाई कारवाहीको दायरामा ल्याउने काम समेत गरेको छ । पालिकामा खाद्य तथा गुण नियन्त्रण कार्यालयको सहयोगमा यस वर्ष ३ पटक, उपभोक्ता हीत संरक्षण समितिबाट १ र शाखाले नियमित अनुगमन गर्ने गरेको छ । पालिकाले यस वर्ष करिव २ सय पसल अनुगमन गरेको र ति पसलमा बच्चाले खाने तयारी खाजा, पेय पदार्थ म्याद नाघेका भेटिने गरेको बताउनु भयो । उपभोक्ता अधिकारका लागि उपभोक्ता आफै सचेत बन्नु पर्ने र नियमनकारी निकायको प्रभावकारी भुमिका रहनुपर्ने आवश्यकता छ । स्थानीय तथा अन्य सरकारले नियमनमा कडाइ गर्न आवश्यक छ ।