टीकापुर, २७ जेठ/२१ औं शताब्दीमा सेवा प्रतिस्पर्धा हुनुपर्ने हो तर नेपालमा अहिले पनि कतिपय सेवामा एकाधिकार छ । विद्युत सेवामा एकाधिकार भएपछि कर्मचारीले अनुचित फाइदा उठाउँदै आएका छन् । टीकापुरस्थित नेपाल विद्युत प्राधिकरण कार्यालयबाट हरेक सेवाग्राहीले सास्ती बेहोरेको गुनासो गर्छन् तर विद्युतका कर्मचारीका विरुद्ध उजुरी गर्न सक्दैनन् । यसको एउटै कारण हो भविष्यमा समस्या आयो भने कर्मचारीले सहयोग गर्दैनन् ।
सेवाग्राहीको यही मनोभावना बुझेका विद्युतका कर्मचारीले वर्षौदेखि फाइदा उठाइरहेका छन् । विद्युतमा लाइन जडान गर्न पहुँच छैन भने कर्मचारीको दुव्र्यबहार सहनुपर्छ या खुरुक्क नगद बुझाउनुपर्छ । सेवाग्राहीले भोल्टेज पुगेन भनेर निबेदन दिएपछि सबै ठाउँ यस्तै हो, पानी परेपछि ठीक हुन्छ भनेर कार्यालय प्रमुख, इञ्जिनियरले बनिबनाउ जवाफ दिन्छन् ।
नेपाल विद्युत प्राधिकरण टीकापुरको गाडी शनिबार ब्यक्तिगत प्रयोजनमा प्रयोग भएको छ । शनिबार विद्युतका कर्मचारीले तिकुनीयामा रहेको मेला हेर्न रातो रङको ना १ ञ १०५ नं. को गाडी लगेका छन् । विद्युतका कर्मचारीले तिकुनीया बजारबाट पटक पटक घरायसी सामान बोेक्ने गरेका छन् । टीकापुर दैनिकसँग भिडियो सुरक्षित छ ।
भोल्टेज नपुगेको बारेमा विद्युत कर्मचारी गम्भिर हुँदैनन् । टीकापुरस्थित साथी अस्पताल सञ्चालन गर्दा घरधनीले थ्रि फेज लाइन जडान गर्न खोजे, फाइल अघि बढेन अनेक बहाना बनाए कर्मचारीले । घरधनी हारथाक भएपछि उर्जा सचिव अनुपराज उपाध्यायको सहयोग लिन पुगे । उर्जा सचिव उपाध्याय ले विद्युत कार्यालयमा फोन गरेपछि अर्को दिन अत्तरियाबाट मिटर ल्याएर विद्युत जडान भएको घरधनी रघुराज उपाध्याय ले गुनासो गरे ।
करिब एक वर्षअघि मात्र टीकापुरस्थित आँखा उपचार केन्द्रमा थ्रि फेज लाइन जडान गर्नुपर्ने भयो ।
थ्रि फेज लाइन जडान गर्न इष्टिमेट गर्नुपर्छ भनियो । इञ्जिनियरले इष्टिमेट गर्न १० हजार रुपैया लाग्छ भने, आँखा उपचार केन्द्रका कर्मचारी ले हुन्छ भने तर इञ्जिनियरले बिल दिन सकिदैन भने । संस्थाको कुरा हो बिल नभएपछि यत्रो पैसा हामी कर्मचारीले कसरी मिलाउने भनेपछि समस्या भयो । पछि एकदिन काम गरेको भनेर २ हजारमा कुरा मिलायौं भन्दै आँखा उपचार केन्द्रका कर्मचारीले नाम नछाप्ने शर्तमा भने ‘‘बत्ती जडान भयो, पछि एक हजार ५ सय पुनः दियौं त्यो पैसा तारमा जोड्यौँ ।’’
टीकापुर १ का बिक्रम विकले करिब एक वर्षअघि आफ्नो घर जाने बाटैमा पोल परेपछि पोल सार्न अनुरोध गरे । सबै ठाउँमा बत्ती बन्द गर्नुपर्छ त्यसका लागि ५० हजार रुपैया लाग्छ भनियो । ५० हजार धेरै भयो भनेर विकले आफ्नो पहुँच भएको ठाउँमा गुनासो गरेपछि यसअघिका कार्यालय प्रमुख माधव महतले त्यस्तो होइन भन्दै ढाकछोप गरे ।
विकले आफूहरु ५ हजार रुपैयाँ दिन तयार भए पनि अहिलेसम्म विद्युतका कर्मचारीले काम नगरिदिएको गुनासो गरे । यी त केही प्रतिनीधि पात्र घटना मात्र हुन् । पहुँच नभएका आम सेवाग्राहीलाई थ्रि फेज लाइन जोड्न धेरै समस्या छ । व्यवसाय गर्छु भनेर काम थाल्यो विद्युतका कर्मचारीले बिना पैसा काम गर्दैनन् भन्ने छ । यति भन्छन् तर मुख खोल्न तयार हुँदैनन् । थ्रि फेज लाइन लिन प्रति एचपी दुई हजार रुपैया बुझाउनुपर्छ भन्ने सबैलाई थाहा छ तर कोही बोल्दैन । ‘‘बत्तीको समस्या भएपछि त्यही जानुपर्छ भनेर सेवाग्राहीले मुख नखोल्दा विद्युतका कर्मचारीको मनोबल बढ्दै गएको टीकापुर उद्योग बाणिज्य संघका पूर्व महासचिव तपेन्द्र स्वाँरले भन्नुभयो, ‘‘हरेक सेवाका लागि कार्यालयमा शुल्क तिरेपछि थप शुल्क लिनु गलत हो ।’’ उहाँले टीकापुरमा पटक पटक बत्ती जाँदा नागरिक दिक्क भएको भन्दै विद्युत क्षमता बढ्यो भनियो तर नागरिकले गत वर्ष भन्दा बढी सास्ती बेहोर्नु परेको छ भन्नुभयो ।
विद्युतका कर्मचारी लाई खुशी पारेर कार्यालयमा गएर निबेदन र दस्तुर बुझाउनु पर्दैन । विद्युत कार्यालयका वर्तमान प्रमुख कपिल जोशीको कार्यशैलीका कारण पनि कार्यालय का कर्मचारी अराजक हुँदा सेवाग्राहीले दुःख पाइरहेको स्थानीय को भनाइ छ ।