एक बर्षमा एक हजार पांच सय पिन्ट रगत खपत

टीकापुर,३० अषाढ/नेपाल रेडक्रस सोसाइटी टीकापुर उपशाखाद्वारा सञ्चालित रक्त सञ्चार केन्द्रमा एक हजार पाँच सय पिन्ट रगत खपत भएको छ । यस आर्थिक वर्षको अन्त सम्ममा यति रगत आपूर्ति गरेको हो । यसरी आपूर्ती भएको सबै जसो रगत टीकापुर अस्पतालमा आएका बिरामीले लिने गरेका छन् भने केही पिन्ट रगत अन्य अस्पताल मा पनि लगिने गरिएको रक्त सञ्चार केन्द्रका संयोजक टेकराज बिनाडी ले जानकारी गराउनुभयो ।
‘‘करिब १२ बर्ष अघि आकस्मिक रुपमा मात्र रक्त सेवा प्रदान गरेको रेडक्रसले १० बर्ष देखि यस क्षेत्रमा नियमित रगत आपूर्ति गर्दै आएको छ,’’ बिनाडीले भन्नुभयो,‘‘ रेडक्रसले रगत आपूर्ति गर्न थालेपछि अस्पतालमा आउने बिरामीले ठूलो राहत पाउन थालेका छन् ।’’ रगत आपूर्ति सहज भएपछि अस्पतालमा शल्यक्रियाका बिरामी, सुत्केरी, रक्तअल्पताका बिरामी र शिकलशेलका बिरामीले राहत पाएका छन् ।


नागरिकहरुको रगत लिने तर अरुलाई आवश्यक पर्दा नदिने बानीले बिरामीलाई चाहिने रगत आपूर्तिमा समस्या थपिदै गएको छ । रगतको माग बढ्दै गएको छ तर दान गर्ने तत्परता बढेको पाइदैन ।
रक्त सञ्चार केन्द्रलाई टीकापुरस्थित सन्त निरंकारी मण्डल, मानव धर्म सेवा समितिले नियमित रक्तदान कार्यक्रम गर्दे आएका छन् भने पछिल्लो समय पार्टी र तिनका भातृ संगठन तथा विभिन्न संघसंस्थाले रक्तदान कार्यक्रम गर्न थालेका छन् । यसरी रक्तदानबाट जम्मा भएको रगत रक्त सञ्चार केन्द्रले आफूसूग राख्ने र बढी भए धनगढी पठाउने गरेको छ । रक्त सञ्चार केन्द्रले भजनी, लम्की, जोशीपुर, जानकीबाट पनि रगत संकलन गर्ने गरेको छ ।
हरेक वर्ष नियमित रक्तदान गर्दै आएको संस्था सन्त निरंकारी मण्डलका केन्द्रीय प्रभारी नरबहादुर रावल रगत मानिसको जीवन बचाउका लागि आवश्यक पर्ने भएकाले रक्तदान कार्यक्रम नियमित गर्दै आएको बताउनु भयो । ‘‘हामीले नागरिकलाई जतिबेला आवश्यक हुन्छ त्यति बेला पनि रगत उपलव्ध गराउने गरेको छौ,’’रावलले भन्नुभयो ,‘‘ नागरिकको भलाइ र जीवन बचाउका लागि रगत नालीमा होइन नाडीमा बगाऔँ भन्ने सन्देश दिन रक्तदान गर्दै आएका छौँ ।’’
टीकापुर अस्पतालका अध्यक्ष झपट सोडारी रक्त सञ्चार केन्द्र अस्पतालमा आउने बिरामीको जीवन बचाउन गरेको कार्य सहनीय रहेको बताउँदै सेवा थप विस्तारमा सबैको सहयोग रहनु पर्ने बताउनुभयो । ‘‘अस्पतालमा शल्यक्रिया लगायतका सेवा लिन आउने बिरामीलाई धेरै राहत भएको छ । दिनहुँ रगत अभाव भएका बेला रेडक्रसले दिएको सेवाले राहत भएको छ’’,सोडारी ले भन्नुभयो ,‘‘ मानिसको जीवन बचाउका लागि यो नियमित र थप विस्तार हुन आवश्यक छ ।’’
नागरिकलाई रगत आपूर्तिमा सहजताका लागि टीकापुर नगरपालिका, जानकी गाउँपालिकाका केही वडा र जोशीपुर गाउँपालिकाले आफ्नो पालिकाका नागरिकलाई २ पिन्ट रगत निशुल्क दिने व्यवस्था मिलाएका छन् । यसरी मिलाइएको व्यवस्थाअनुसार ती स्थानीय तहले रेडक्रसमा लाग्ने शुल्क एकमुष्ट उपलब्ध गराउने गरेका छन् ।