एनसेलको ठगीमा नेताहरु मौन

सम्पादकीय
गणतन्त्रका नाममा मोज गर्दै आएका नेताहरु नागरिक केही पनि होइनन् भन्ने व्यबहार गर्दैछन् । एनसेलको ठगीमा सत्ता पक्ष हुन् या प्रतिपक्ष हुन् कोही  बोल्दैनन् । सात बर्ष अघि एक खर्ब ४३ अर्बमा खरिद भएको एनसेल अहिले ६ अर्ब ६६ करोड रुपैयामा बिक्री भएको छ । यस्तो अपारदर्शीताका बारेमा सरकार मौन       छ । यत्रो रकम हिनामिना भइरहेको छ तर नेताहरुको मुख खुल्दैन । करिब ६ बर्ष पछि नेपाल सरकारको स्वामित्वमा स्वतः आउने एनसेल बिक्री गरेर राज्यलाई ठग्ने काम भएको छ । एनसेल जस्तो अर्बाै कमाउने संस्था साढे ६ अर्बमा बिक्री भयो भनेर कसरी पत्याउने ? आम मान्छेले नपात्याउने बिषयमा सत्तामा बसेका नेताहरु मौन छन् । एनसेलको ठगीका बिषयमा सांसद डाक्टर अमेरस कुमार सिंहले जोडदार आवाज उठाएपछि अहिले यो प्रकरण चर्किएको छ । हरेक ठूला करदातासंग मिलेर देश लुट्न पल्केका नेताहरुकै कारण देश आर्थिक संकटमा छ । नागरिकको जनजीवन अस्तव्यस्त छ तर नेताहरु कसरी लुट्नेमा छन् । अहिलेको बिकृती डरलाग्दो छ । बिकृतीका बिरुद्ध आवाज उठ्न थालेका छन् । यसरी उठ्न थालेका आवाज दबाउने प्रयास भइरहेको छ । आवाज दबाउने प्रयास त होला जुन दिन सडकमा जनता उर्लिन्छन् अनी लुटेराहरुले चाल पाउछन् । नागरिकको भावना नबुझ्नेहरु सत्तामा छन् । भाषण क्रान्तिकारी गर्ने काम लुट्ने । देश हरेक दृष्टिकोणबाट तहस नहस भएको छ । देशलाई कसरी लिकमा ल्याउने भन्ने बारेमा गम्भिर भएको पाइदैन । व्यक्तिले बोकेको आन्दोलनसंग डराउनेहरुका बारेमा नागरिकले चासो देखाउन जरुरी छ ।