कमिसन पाइने आयोजनामा मात्र ध्यान

सम्पादकीय
नेपालमा राजनीति दलका नेताहरुको ध्यान कमिसन तर्फ भइरहेकाले पछिल्लो समय ठूला आयोजना निर्माण गर्दा आवश्यक्ता भन्दा पनि कमिसनका लागि तयार हुन थालेका छन् । यसको पछिल्लो उदाहरण हो पोखरा अन्तराष्ट्रिय हवाई मैदान । गौतमबुद्ध अन्तराष्ट्रिय हवाई मैदान आवश्यक थियो अर्बाै रुपैया खर्च गरेर निर्माण गरियो । गौतम बुद्ध हवाई मैदान सञ्चालनमा आएको ७ महिनामा एक सय ५४ उडान मात्र भएको समाचार आएको छ । यदि यो कुरा साचो हो भने हाम्रो देशमा नेताहरुमा सुझबुझ रहेनछ भन्ने प्रष्ट हुन्छ । काठमाण्डौको हवाइ मैदानले उडान थेग्न सक्ने अवस्था नभएका कारण गौतमबुद्ध हवाई मैदान निर्माण गर्नु ठीक मानिएला तर पोखरामा के कारणले निर्माण गरियो ? आर्थिक भार पार्ने तर त्यसबाट हुने आम्दानीका बारेमा बिचार नगर्ने हो भने मुलुक ऋणमा डुव्ने निश्चित हो । अझ पोखरा पछि निजगढमा बिमान स्थल निर्माण गर्ने भन्दै नेताहरु कुर्लदैछन् । यसरी जनताको ढाड सेक्ने गरी हवाई मैदान निर्माण गर्नुको औचित्य सत्तामा बस्नेहरुले पुष्टि गर्नुपर्छ । केवल कमिसनका लागि ऋण लिएर ठूला योजना बनाउनेहरुलाई जनताले ठिक पार्नुपर्छ । अर्बाै लगानी भएका हवाई मैदानमा जहाज नउड्ने हो भने के का लागि रकम खर्च गरियो ? बिना अध्ययन सरकारी रकम खर्च गर्ने प्रबृत्ति रोक्नका लागि पनि हवाई मैदानको कमिसनमा को को लागेका छन् पत्ता लगाएर जेलमा हाल्नुपर्छ । बिदेशी ऋण लिदै मनपरी खर्च गर्दै गर्ने हो भने देश कतिञ्जेल ठिक्छ ? सार्वजनिक ऋण २० खर्ब ७ अर्ब ८४ करोड पुगेको छ । आर्थिक बर्ष २०७४÷०७५ मा ९ खर्ब १७ अर्ब थियो । सार्वजनिक ऋण बढ्दै गएको प्रष्ट छ । ऋणको अनुपातमा विकास बढेको पाइदैन । सत्तामा बस्नेहरुले ऋण लिन सजिलो माने तर विकासको सवालमा गभिंरता देखाएनन् । १० खर्ब ५० अर्ब २३ करोड बाह् ऋण हो भने बांकी आन्तरिक ऋण हो । सरकारले बिभिन्न देशका बैङ्क , बिश्व बैङ्क , एसियाली विकास बैङ्क तथा बिभिन्न देशसंग सहुलियत ऋण लिने गरेको छ । यसरी सहुलियत रुपमा लिएको ऋण विकासका ठोस योजनामा प्रयोग गर्नुपर्ने भएपनि २०४६ को परिवर्तन पछि बनेका सरकारले बजेट सक्ने काम मात्र गरेको पाइन्छ । तसर्थ नागरिक सचेत हुन जरुरी छ । घर आँगनमै विकास आयो भनेर रमाउने मात्र होइन की विकास बजेट कसरी खर्च हुँदै छ भन्ने बारेमा ध्यान दिनपर्छ । जनतालाई मारेर आफ्ना सन्तान पोस्नेहरुलाई बहिस्कार गर्न जरुरी छ ।