कांग्रेसका नेताहरु सच्चिनुपर्छ

सम्पादकीय
नेपाली कांग्रेसका नेताहरु सच्चिनुपर्छ । देश र जनताका लागि कांग्रेसका हरेक नेताहरु सच्चिन जरुरी छ । सत्ता लिप्सा र सत्ताको दुरुपयोग गरेर आफ्नै साथीहरुलाई निर्मम भएर थिचोमिचो गर्ने संस्कृतिको विकास भइरहेको छ । अर्काे तर्फ पार्टीका कार्यकर्ताले पसिना बगाएर निर्बाचित भएका जनप्रतिनीधिमा स्वच्छेचारीता बढ्दै गएको छ । जनप्रतिनीधि भएपछि आफु अनुकुल काम गर्ने र पार्टीकै नेताहरुलाई समाप्त गरेर आफु राजा बन्ने प्रबृत्ति मौलाउँदै गएको छ ,यो प्रबृत्ति नै ठूलो समस्या हो । यहि समस्याका कारण ठूलो दल भएर पनि सरकार बनाउँन चुकेको छ । आफ्नो पार्टी मिलाउँन भन्दा पनि फरक पार्टीलाई काखी च्यापेर सत्तामा बस्ने र आफ्नै साथीहरुको हुर्मत लिन थालेपछि कांग्रेसमा पछिल्लो समय अनुशासनहिनता बढ्दै गएको छ । गठबन्धन सफल भएन । निर्बाचनमा एक्लै लड्नुपर्ने आम कार्यकर्ताको मागलाई वेवास्ता गरियो जव सरकार बनाउने बेला माओवादीका अध्यक्ष प्रचण्डले धोका दिए । प्रचण्डको बाध्यता हो । भारतको आडमा जनयुद्ध भयो र प्रचण्ड प्रधामन्त्री बन्नु र केही व्यक्ति लाभको पदमा पुग्दा प्रचण्ड सफल भएको जस्तो देखिएपनि प्रचण्डलाई पार्टी जोगाउन त्यति सहज  छैन । जुन एजेण्डामा जनयुद्ध गरे १७ हजार नागरिक मराए आज आएर सबै बिर्सनु परेको छ । अर्काको बुई चढेर थालेको क्रान्तिले प्रचण्ड र प्रचण्डको कम्पनीलाई फाइदा भएपनि अहिले आएर प्रचण्ड आफै सन्तुष्ट छैनन् । प्रचण्डलाई ब्लेकमेलिङ् गर्नेको संख्या बढ्दै छ । जनयुद्धमा सहयोग गर्ने भारत बेलाबखत यसो गर भनेर घाँटी अचेट्दा प्रचण्डलाई थप समस्या भएको छ । यस्तो अवस्थामा कांग्रेसले प्रचण्डको भावना नबुझ्नु लामो सोच्न नसक्नु हो । अर्कालाई प्रधानमन्त्री बनाउन मात्र कसैले राजनीति गर्दैन । तर जे होस् यतिखेरको खेलबाट कांग्रेसले सिक्न जरुरी छ । जनताका मुद्धामा कांग्रेस सचेत भएर निगरानी गर्ने र शसक्त प्रतिपक्षको भूमिका निभाउँदा मुलुकलाई फाइदा नै हुन्छ । सधै सत्ताको फोहरी खेलमा लाग्नु भन्दा देश र जनताको हितमा काम गर्ने योजना बनाएर काम गर्न जरुरी छ । कांग्रेसले पहिला आफ्नो पार्टी बलियो बनाउन जरुरी छ । अर्काको बैसाखीको भरमा राजनीति धेरै बेर गर्न सकिदैन । तसर्थ नेपाली कांग्रेसका नेताहरु सचेत भएर देश र जनताको हितमा लाग्न जरुरी छ ।