टीकापुर, २१ मंसिर/नेपाली कांग्रेसको सय दिने बिशेष अभिायान अन्तर्गत बिहिवार टीकापुरमा कार्यक्रम भएको छ । उक्त कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा कैलाली जिल्लाका प्रतिनीधि योगेन्द्र प्रशाद चौधरी ले जातको कुरा गरेर नेतृत्व र अवसर माग्नु कमजोर मानसिकता हो भन्नुभएको छ । ‘‘नेतृत्व चाहिएको छ भने प्रतिस्प्रधामा उत्रनुपर्छ,’’ चौधरीले भन्नुभयो , ‘‘आरक्षणका लागि थारु सहित बिभिन्न ८ वटा कलस्टर संबिधानमा व्यबस्था गरिएको छ भने पार्टीले पनि व्यबस्था गरेको छ । ’’ उहाँले विकासका सवालमा होस् या नागरिकको अधिकारका लागि कांग्रेसले जिम्मेवार भएर भूमिका निभाएको कुरा जनतालाई थाहा छ भन्दै कांग्रेसका नेता कार्यकर्ताले आत्म बल बलियो बनाएर जनतामाझ जाने वातावरण छ भन्नुभयो । कांग्रेस एक भएर जनता माझ जान आग्रह गर्दै कैलालीमा थारुका नाममा भोट लिएर सत्तामा गएपनि नागरिक उन्मुक्ति पार्टीले थारु समुदायप्रति घात गरेको उहाँको तर्क थियो ।
‘‘नागरिक उन्मुक्तिका संयोजक रेशम चौधरीले थारुको इतिहास मा दाग लगाउनुभयो , शान्तीबादी थारु हिंस्रकको रुपमा चिनाउने प्रयास गर्नुभयो,’’चौधरीले भन्नुभयो,‘‘कुनै व्यक्ति बिशेष थारुले सधै अवसर पाउँदैमा समग्र थारुको उत्थान हुँदैन,त्यसका समग्र देशको अवस्थामा सुधार आउन जरुरी छ । ’’

नेपाली कांग्रेसका अर्का केन्द्रिय सदस्य डाक्टर रणबहादुर रावलले नेपाली कांग्रेस बलियो भएन भने प्रजातन्त्र कमजोर हुन्छ भन्ने कुरा नागरिक लाई बुझाउन जरुरी छ भन्नुभयो । उहाँले कांग्रेसमा हरेक सकारात्मक सोच भएका नेता कार्यकर्ता एक भएर पार्टीलाई बलियो बनाउन जरुरी छ भन्नुभयो । टीकापुरमा भएका हरेक विकास निर्माणमा कांग्रेसले खेलेको भूमिकाका बारेमा जनता लाई जानकारी गराउनु कार्यकर्ता को कर्तव्य हो भन्नुभयो ।
जिल्ला सभापति तथा राष्ट्रिय सभा सदस्य नारायण दत्त भट्टले टीकापुरमा सभा सम्मेलन ठूला ठूला हुने, कांग्रेस धेरै पनि देखिने तर निर्बाचन मा परिणाम उल्टो आउने गरेको बताउनुभयो । ‘‘नेताहरुमा एकता नहुँदा अनुशासन हिनता बढ्दै जाँदा पार्टी कमजोर भएको कुरा सत्य हो ,’’ भट्टले भन्नुभयो, ‘‘सधै नकारात्मक हुने नेतहारु लाई सुत्न दिनुपर्छ । अर्को मान्छे आयो भने राम्रो काम गर्छ ।’’ पार्टीलाई दोष देखाएर आफु ठिक छु भन्ने प्रबृत्ति अन्त गर्न भट्टले आग्रह गर्नुभयो ।
क्षेत्रीय सभापति प्रकाश शाहको सभापतित्वमा भएको उक्त कार्यक्रममा जिल्ला सदस्य शेरबहादुर साउँद र जग्गु प्रशाद चौधरी, पूर्ब क्षेत्रीय सभापति भुवनेश्वर अधिकारी,प्रदेश उप सभापति देब नारायण चौधरी, नगरसभापति नरेश कुमार खत्री, नेपाल बिद्यार्थी संका पूर्ब केन्द्रिय सदस्य नमराज उपाध्याय, महिलासंघका जिल्ला कोषाध्यक्ष निर्मला कडायत, जानकीका उपसभापति लक्ष्मण चौधरी लगायतले बिचार राख्नुभएको थियो ।
कार्यक्रममा जिल्ला सचिब नृपबहादुर सुनारले अभियानका बारेमा जानकारी गराउनुभएको थियो ।
कार्यक्रम सञ्चालन क्षेत्रीय सचिब लौटन चौधरी र धनञ्जय रिमालले गर्नुभएको थियो । यसै गरी नगरको कार्यक्रम शुक्रवार बिहान हुने नगरसभापति खत्रीले जानकारी गराउनुभयो ।