कांग्रेसको सुबिधा खाएकाहरु नै पार्टीमा समस्या

सम्पादकीय
टीकापुरमा कांग्रेसको कारण सुबिधा र अवसर खाएकाहरुले निस्वार्थ भएर बोल्ने हो भने टीकापुरको समाज त्यसै सुधार हुन्छ । टीकापुरमा कांग्रेसको संगठन बलियो छ । संगठन बलियो भएपनि भोट हाल्ने बेला पार्टीको उम्मेदवार भन्दा अर्काे उम्मेदवारलाई सहयोग गर्ने बानी बस्न थालेको छ । पार्टीको जिम्मेवार व्यक्ति निर्बाचनमा दाँयावाँया गर्छ भने सामान्य कार्यकर्ताले के बुझ्छन् ? कांग्रेसको अवसर र सुबिधा खाएकाहरु अधिकांस न कांग्रेसप्रति बफादार छन् न टीकापुरको समाजप्रति । अवसर खाने अनी समाजमा भद्रगोल भएको देख्न चाहने प्रबृत्तिकै कारण नेपाली कांग्रेसमा किचलो भइरहेको छ । बिचारले कांग्रेस भएको हुँ भन्नेहरु पनि पछिल्लो समय पार्टीका बारेमा गम्भिर भएको पाइदैन । जहिले पनि नकारात्मक कुरा गर्नेहरुको भिड बढ्न थालेको हो । यसको एउटै कारण हो गलत र सही नछुट्याउनु । गलत र सही केही नबोल्ने केवल को मान्छे नाता पर्छ भनेर रोज्ने चलनले सिंगो टीकापुरको समाज ध्वस्त हुँदै गएको छ । आज अख्तियारले मुद्धा हालेको पनि गलत र सही नछुट्याउँदाको परिणाम हो । समाजले बहिस्कार गर्नुपर्ने मान्छे पार्टीको नेता हुँ भनेर गौरबका साथ हिँड्छ अनी टीकापुरमा कांग्रेस कसरी बलियो हुन्छ ? टीकापुरमा कांग्रेसका नामले सबै जसो सस्थामा कर्मचारी र पदाधिकारी भए तर पछिल्लो समय तिनीहरुको हाउभाउ दयालाग्दो छ । सुबिधा र अवसर खाएकाहरुले बिगत बिर्सदा नेपाली कांग्रेस कमजोर भइरहेको छ । कांग्रेसबाट अवसर खाएकाहरुले पार्टीप्रति देखाएको व्यबहार दयालाग्दो छ भने तिनका परिवारले कांग्रेसप्रति पोख्दै आएको निरासा पनि उत्तिकै दयालाग्दो छ । क्षमताले खाएकाहरुको कुरा एउटा होला तर कांग्रेसकै कारण अवसर र सुबिधा पाएकाहरुले पार्टीलाई कसरी बलियो बनाउने भन्ने बारेमा चिन्तन गरेको भए पार्टी र टीकापुरको समाजलाई फाइदा पुग्ने थियो । तसर्थ अवसर र सुबिधा खाएकाहरुका बारेमा आम कार्यकर्ताहरुले बिश्लेषण गर्न जरुरी छ । कांग्रेसले आफ्ना मान्छेलाई सुबिधा खुवायो भनेर समग्र समाजमा टिकाटिप्पणी हुने गरेको छ भने त्यही कांग्रेसको सुबिधा खाएकाहरुले धारे हात लगाउँदा यतिखेर समस्या भएको छ । यसमा सबैको ध्यान जान जरुरी छ । स्वार्थि र भ्रष्टहरु कसैका हुँदैनन् ।