कांग्रेस र एमालेमा सुधारको आवश्यक

सम्पादकीय
अस्थिर सरकारका कारण मुलुक अस्थिर भएको छ । निर्बाचन प्रणालीका कारण प्रष्ट बहुमत आउने अवस्था छैन । सरकारमा गएकै दिनदेखि कतिदिन हो कुर्सी मा बस्न पाइने हो भने चिन्ता हुन्छ । काम गर्नका लागि समय चाहिन्छ । पटक पटक सत्ताका लागि दाउपेच गरेपनि सत्तामा गएकाबेला खरो उत्रेको पाइदैन । चरम बेथिति बढ्दै गएको छ । सत्ता स्वार्थका लागि एमाले र कांग्रेस जस्तो दुई शक्ति आपसमा लडिरहे । सत्ताका लागि सडकका रेलिङ भाच्ने देखि सार्वजनिक सम्पत्ती तोडफोड खुब भए । हरेक हतकण्डा अपानाएर सत्तामा जाने अनी सत्ता दोहन गर्ने राजनीतिले मुलकको आर्थिक अवस्था नाजुक भएको छ । नागरिकको आर्थिक अवस्था दिनप्रतिदिन कमजोर हुँदै गएको छ । देश दुई ठूला दल कांग्रेस र एमालेमा व्यापक सुधार हुन आवश्यक छ । यतिखेर दुई ठूला दलको गठबन्धन छ । यो गठबन्धनले राम्रो काम ग¥यो भने नागरिकमा आशा पलाउछ र सकारात्मक सन्देश जान्छ । पटक पटक सत्ता परिवर्तनको खेलबाट जनता आजित भएका छन् । यस्तो अवस्थामा स्थिर सरकार भयो भने केही काम हुन्छ की भन्ने हो । नागरिकको जनजीवन कष्टकर भएको छ । प्रजातन्त्र नै खतरामा छ । प्रजातन्त्रको विकल्प छैन । यस्तो अवस्थामा प्रजातन्त्रको रक्षा अरु पार्टीबाट सम्भब छैन । नेपालको राजनीतिमा नेपाली कांग्रेस र एमालेको भूमिका अहम छ । नेपाली कांग्रेस र एमालेले मुलुकलाई कसरी अघि बढाउन सकिन्छ भन्ने बारेमा सोच्न जरुरी छ । कांग्रेस र एमाले सुध्रिएपछि अरु पार्टी पनि नसुध्रिएर सुखै छैन । नेपाली कांग्रेस र एमलेमा स्वार्थीहरुको भिड छ । पछिल्लो समय त दुबै पार्टीमा माफियाहरुको रजगज बढ्न थालेको छ । यस्तो अवस्थामा पार्टी कमजोर हुने नै भयो । इमान्दार कार्यकर्ता भन्दा चाकडी र व्यापारी मानसिकताका व्यक्तिको कुरा नेताहरुले सुन्न थालेपछि नागरिकको काम हुने कुरै भएन । शुद्धता छाडेर भ्रष्ट आचरण भएकाहरुले समाज र पार्टीको नेतृत्व लिने हो भने त्यो समाज समस्यामा पर्नु स्वभाविकै हो । अवसर पाएका बेला बद्नाम हुने अनी अवसर खोज्नेहरुलाई स्थान दिने हो भने कांग्रेस र एमाले बलियो हुँदैनन् र नागरिक ले पनि पत्याउँदैनन् । यस्तो अवस्थामा नागरिक सचेत हुन जरुरी छ ।