टीकापुर, १ चैत/ राज्य यति लाचार भयो कि नागरिकको अधिकार सुनिश्चित गर्ने सवालमा चुपचाप बस्ने गरेको छ । कानून को डण्डा देखाएर आम नागरिक बाट कर अशुल्ने बाहेक अरु केही काम सरकारको होइन भन्ने सन्देश दिने गरी भजनी नगरपालिका वार्ड नम्बर ३ र ५ मा पर्ने कर्मदेब पडरिया घाट ठेकेदारले रकम अशुल्दै आएका छन् ।
कान्द्रा नदीमा निर्माण भएको काठको पुल तर्दा मोटरसाइकल यात्रुले ३० रुपैयाँ तिर्नुपर्छ । पुलबाट नदी तर्दा ३० रुपैयाँ लिने गरेका छन् तर पैसा तिरेको रसिद माग्दा दिन मिल्दैन भनेर ओठे जवाफ दिने गरेका छन् । ‘‘पुल तर्दा यात्रुसंग रकम अशुल्ने यो भन्दा लाजमर्दो अवस्था के होला ? ,’’ स्थानीय राजकुमार चौधरीले भन्नुभयो,‘‘ बर्षादमा डुंगाबाट नदी वारपार गर्नुपर्ने भएपनि हिउँदमा पानी खासै हुँदैन,पुल बनाएर जवरजस्ती पैशा अशुल्दै आएका छन् ।’’
उहाँले आम नागरिक भजनी बजारमा किनमेल गर्न जाँदा ६० रुपैयाँ पुलमा बुझाउनुपर्छ भन्नु भयो । ‘‘नगरपालिकाले ठेक्का लगाएकै कारण नागरिकले आर्थिक व्ययभार बोक्नु परेको हो,’’ चौधरीले भन्नुभयो,‘‘ यत्तिकोे पुल बनाएर नगरपालिकाले जनतालाई राहत दिन सक्ने भएपनि चासो दिएन ।’’ कान्द्रा नदी पारी भजनीका ३ , ७ र ९ गरी ३ वठा वडा छन् । यि ३ वडाका नागरिकले नगरपालिका को सेवा लिनु पर्यो भने पुलमा ६० रुपैयाँ तिर्नुपर्छ । यसरी पुलमा बसेर रकम अशुल्दै आएको भएपनि नगरपालिकाले भने बर्षौ देखिको निरन्तरता हो भन्दै घाट नगरपालिकाको आम्दानी भएको बताएको छ ।
‘‘घाट आम्दानीको स्रोत हो,घाटबाट आम्दानी भएन भने स्रोत जुटाउन समस्या पर्छ,’’ नगरपालिकाका प्रमुख केवल चौधरीले भन्नुभयो,‘‘ नागरिकलाई समस्या भएको महशुस गरेको छु,अब बैशाख बाट समस्या समाधान हुन्छ । ’’
उहाँले कान्द्रा नदीमा निर्माणाधिन पुलको काम सकिए को र सानो तिनो काम चाँडै सक्न सडक डिभिजन कार्यालय संग अनुरोध गरेको बताउँनु भयो ।
‘‘पुलको सानातिनो काम छ,सडक डिभिजन कार्यालयलाई चाडो सक्न अनुरोध गरेका छौ, यदि सडकले गरेन भने हामी आफैंले काम गरेर भएपनि बैशाखबाट साना गाडी हिँड्ने बनाउँँछौ ।’’ नगर प्रमुख चौधरी ले भन्नुभयो, ‘‘पुलको काम ढिलाई हुँदा नागरिकले बर्षौ देखि दुःख पाउनु परेको छ । ’’
पुलमा शुल्क लिने ठेकेदारले पैसा बुझाएको रसिद नदिनु गलत भएको यात्रुहरुको भनाई छ । सेवा लिएपछि तिरेको शुल्कको रसिद पाउँनु हरेक उपभोक्ताको अधिकार हो । रकम अशुल्नेहरुले आफना बारेमा केही नबोल्न मानेपनि घाटको ठेकेदारको नाम लोकबहादुर कुमाल बोर्डमा लेखिएको छ ।