काम भन्दा बोली बढी

सम्पादकीय
नेपालको राजनीतिमा काम भन्दा बोली बढी हुँदा जनतालाई राहत हुने कुरै भएन । नेताहरुले जनता सामु बोल्नका लागि बोल्ने गरेका छन् । जनताको आवश्यक्ता के हो भनेर खोजि गर्नुको साटो मनपरी बोल्ने गरेका छन् । जनताको समस्या बढ्दै छ तर नेताहरु भाषण गरेर जनतालाई चुप लगाउने प्रयासमा छन् । देशमा बढ्दै गएको निरासाले गर्दा हरेक नागरिकले आक्रोस प्रकट गर्न थालेका छन् । आक्रोस कम गर्न यतिखेर नेताहरु जनता खुसी पार्नेका नाममा मनपरी बोल्न थालेका छन् । नेपाली कांग्रेसका महामन्त्री गगन थापा जनताको मुड बुझेर बोल्न सिपालू छन् । जनतालाई आफुतिर आकर्षण गर्ने क्षमता छ तर बोली अनुसार नागरिकका समस्या समाधान भएको पाइदैन । बढी बोल्दै जाँदा पछिल्लो समय आलोचना हुन थालेको छ । काम भन्दा बढी बोल्ने गरेका छन् भनेर जनताले भन्न थालेका छन् । पूर्ब राजपरिवारलाई बिभिन्न आरोप लगाउने नेताहरु सत्तामा छन् तर पूर्ब राजा भन्दा बद्नाम भएका छन् । हिजो दरबारलाई गाली गरेर जनतामाझ स्थापित भएका नेताहरुको अवस्था नाजुक छ । नेताहरु बद्नाम हुँदै गएका छन् तर कानूनले छुन सक्दैन । सत्ताको दुरुपयोग गरिरहेको जनताले बुझेका छन् । गणतन्त्रमा नागरिकले दुख कष्ट मात्र होइन शान्ति सुरक्षाको समस्या भोग्नु परेको छ । भएका बिकृती बिसंगति सच्याउनुको साटो पूर्ब राजालाई तथानाम बोल्नु गलत हो । पञ्चायत कालमा राजपरिवारले स्विजरल्याण्डमा पैसा जमा गरेको छ भनेर राजनीतिक दलका नेताहरुले भन्ने गरेका थिए । राजपरिवार कै कारण मुलुक कमजोर भयो भनेर प्रजातन्त्र माग गरियो त्यसैका लागि आन्दोलन भयो । प्रजातन्त्र आएपछि नेपाललाई स्विजरल्याण्ड बनाउँछौ भनेर नेताहरुले भाषण गर्ने गरेका थिए । प्रजातन्त्र कालमा निर्माण भएका भौतिक संरचना जनयुद्धका नाममा ध्वस्त पारिए । गणतन्त्र नआउँदासम्म देश अघि बढ्दैन भनेर भनियो तर गणतन्त्र आएको डेढ दशक भयो नेपालको अवस्था नाजुक भयो । राजपरिवारले स्विजरल्याण्डमा राखेको पैसा अहिलेसम्म आएन बरु अहिले नेताहरुले बिदेशमा पैसा लुकाएका छन् भनेर सामाजिक सञ्जालमा आउने गरेका छन् । हिजो दरबारलाई भन्नेहरु अहिले त्यही आरोप आफुहरु भोग्न बाध्य छन् । तसर्थ नेताहरुले बढी बोल्नु भन्दा काम गर्न जरुरी छ । नागरिकका सवालमा नेताहरु गम्भिर हुन जरुरी छ । जनताको सवालमा सबै राजनीतिक दल एक भएर निकास दिन जरुरी छ ।