सम्पादकीय
गणतन्त्र आएपछि हरेक पार्टीका युवाहरु सजिलो गरी पैसा कमाउन खोजिरहेका छन् । पार्टीलाई युवाहरुको जमात आवश्यक छ त्यहि मौका छोपेर युवाहरु काम गर्नुभन्दा सजिलो गरी पैसा कमाउन पल्केका छन् । हरेक पार्टीमा पढ्न नसकेका युवाहरु आबद्ध छन् । काम केही नहुने भएपछि राजनीति गर्न सजिलो भयो । पढे लेखेका युवाहरुलाई पार्टीमै स्थान पाउन गाहे छ । त्यसैले त पछिल्लो समय पढेलेखेको युवाहरु स्वतन्त्र पार्टीमा आकर्षित हुन थालेका छन् । स्वतन्त्र पार्टीमा पढेलेखेकाहरुको सम्मान हुन थालेपछि पुराना पार्टी प्रति मोह घट्दै गएको पाइन्छ । अहिलेको युगमा कसैले पनि स्वयमसेवक भएर काम गर्न सक्ने अवस्था छैन । जीवन निर्बाह गर्न कुनै न कुनै पेसा अँगाल्न जरुरी छ । जायजेथा बिक्री गरेर पढाएका छोराछोरी बेरोजगार हुन् भनेर कसैले सोच्दैन । राम्रा बिद्यार्थी अधिकांस बिदेश पलायन हुन थालेका छन् । यस्तो बिकृतीमा टीकापुर पनि अछुतो हुन सक्ने कुरै भएन । टीकापुरका विकास निर्माणमा युवाहरुको सहभागिता देखिन्छ । यो राम्रो पक्ष हो । युवाहरुले आफ्नो ठाउँको विकास गर्ने र जीवन निर्बाह गर्ने हो भने बिदेश जानु पर्दैन भन्ने सन्देश गएको छ । तर टीकापुरमा निर्माणका भएका पक्की सडक हुन् या अन्य विकास निर्माणलाई नियाल्ने हो भने युवा भनेर गर्ब गर्ने ठाउँ छैन । पार्टीका जिम्मेवार पदमा बस्ने अनी विकास निर्माण गर्दा ठग्ने भएपछि नागरिकले त्यस्ता युवाहरुको कस्तो मुल्याकंन गरेका होलान् सहजै अनुमान गर्न सकिन्छ । युवाहरुले बनाएका पक्की सडकको हालत खराब छन् । युवाहरुले आफ्नो ठाउँमा निर्माण गरेका विकास योजना गर्ब गर्ने लायकको हुनुपर्छ । युवाहरुले समाजलाई सकारात्मक सन्देश दिनुपर्ने हो तर टीकापुरमा ठीक उल्टो भएको छ । ठेक्का लिने अनी काम नगर्ने पछि पार्टीको आडमा कर्मचारीलाई धम्काउने गरिएको छ । आफ्नो पेसाप्रति इमान्दार नहुने युवाहरुले समाजका लागि कसरी काम गर्न सक्छन् ? टीकापुरमा निर्माण भएका पक्की सडक भरसक एक बर्ष त्यति नभए दुई बर्षमै भत्कने गरेका छन् । नागरिकले गास काटेर तिरेको करबाट विकास हुन्छ भन्ने कुरा युवाहरुले बुझ्नुपर्ने हो । युवाहरु भविष्यका कर्णधार हुन् भनिन्छ त्यहि युवाहरुले समाजलाई ठग्ने हो भने त्यस्ता युवाहरुबाट समाजले के पाउँछ ? आदर्शको कुरा गरेर मात्र देशको विकास पनि हुँदैन समाजमा एकता पनि हुँदैन । तसर्थ युवाहरु सचेत हुन जरुरी छ । नागरिकले पनि आफ्ना र पराया नभनी कामको मुल्याकंन गर्न जरुरी छ । विकास निर्माणको बजेट खाएर ठालू बन्ने युवाहरुलाई समाजले बहिस्कार गर्न जरुरी छ । यस्ता बिषयमा समाज पनि सचेत हुन जरुरी छ ।