कित्ता काट गर्न जरुरी

सम्पादकीय
हरेक पार्टीमा भ्रष्ट प्रबृत्ति भएका र इमान्दार गरी दुई थरी नेता तथा कार्यकर्ता छन् । प्रजातन्त्र देखि गणतन्त्र आउँदासम्म भ्रष्टहरु हाबी भएपछि पार्टीको साख खस्कन थालेको हो । गणतन्त्रलाई बलियो बनाउँन राजनीतिक दलका नेताहरुले भूमिका खेल्नुपर्ने भएपनि नेतृत्वमा देखिएको अराजकताले आम कार्यकर्तामा निरासा छाएको छ । देश र जनताका सवालमा काम गर्नुपर्ने पार्टीले जनताको सवालमा भन्दा पनि भ्रष्टहरुलाई कसरी मिलाएर सत्तामा बस्ने भन्ने मानसिकता गड्दै गएको छ । सत्तामा गएर संबैधानिक निकायलाई हात लिएर देश लुट्नमा नेताहरु व्यस्त छन् । पार्टीमा भ्रष्ट र अराजकहरु हाबी भएपछि हरेक पार्टीमा अहिले आन्तरिक समस्या छ । आन्तरिक समस्यालाई समाधान गर्नुभन्दा इमान्दार कार्यकर्ताले बिरोध ग¥यो भन्दै राजनीति हत्या गर्ने प्रचलन नेपाली समाजमा बढ्दै गएको छ । पार्टीमा इमान्दारि पूर्बक काम गरेको नेता र कार्यकर्ताले नेतृत्वलाई प्रश्न गर्न सक्छ । प्रश्न ग¥यो भन्दैमा राजनीति हत्या गर्न नेतृत्व उद्यत हुन्छ । यस्तो अराजकतामा पार्टीमा पद्धती बलियो हुने कुरै भएन भने अर्को तर्फ पार्टीमा आन्तरिक लोकतन्त्रको हत्या भइरहेको छ । पार्टीमा आन्तरिक लोकतन्त्र बलियो बनाउँन बहस र छलफल हुँदैन । अदृष्य शक्तीका आडमा निर्णय गरेर जनतालाई लाद्ने काम भइरहेको छ । मुलुक आर्थिक संकटमा परेको छ । तसर्थ राजनीति देश र जनताका लागि गरेका हौं भन्नेहरु गम्भिर हुन जरुरी छ । भ्रष्टको गुटमा लाग्ने कि इमान्दार बनेर जनताको सेवा गर्ने भन्ने बारेमा प्रष्ट हुन जरुरी छ । भ्रष्टहरुकै कारण मुलुक संकटमा परेको सबैलाई थाहा छ तर नेतृत्वलाई दबाब दिने हैसियत राख्दैनन् । लोभको पछि लागेर नेतृत्वले गलत ग¥यो भने पनि चुप लाग्ने प्रबृत्तिले नेतृत्व गलत पछि गलत गर्दैछन् । जनता जाग्न जरुरी छ । भ्रष्टहरुलाई सामाजिक बहिष्कार गर्न जरुरी छ ।