किसान मर्कामा

सम्पादकीय
बर्षेनी किसान मर्कामा पर्छन् तर राज्यले क्षतिपुर्ती दिनेबेला झारा टार्छ । कहिले पानी बढी हुने त कहिले पानी अभाव हुने भएपछि किसानलाई उत्पादन गर्न कठिन हुने गरको छ । बाली काट्ने बेला बर्षादले बाली धानवाली नास गर्ने गरेको छ । असोज १ गते आएको बाढीले कैलालीमा धान खेती नास गरेको
छ । यसरी किसानको बर्ष दिनभरीको काम खेर गएको छ । बर्षाबाट बच्यो भने भाउ नपाउने डर उत्तिकै छ । यसरी धान खेति गर्ने किसानहरु समस्यामा परेका हुन्छन् भने केरा खेतिको अवस्था पनि उस्तै छ । टीकापुर क्षेत्रमा केरा बाली नास हुने गरेको छ । अधिकांस केरा नास हुँदा किसान चिन्तित छन् । हुन त केरा खेतीको बिमा होला तर कतिपयले बिमा गरेका छैनन् । बिमा गरेका किसानले पनि क्षती अनुसार बिमा रकम पाउँदैनन् । टीकापुर क्षेत्र यतिखेर केरा खेतीले प्रख्यात  छ । यहाँ उत्पादन भएको केरा देशका बिभिन्न स्थानमा बिक्रि हुने गरेको छ । यस क्षेत्रका केरा उत्पादकहरुले दत्त चित्त भएर काम गरेका कारण केरा उत्पादनमा बृद्धि भइरहेको छ । केरा उत्पादकका समस्या समयमै समाधान गर्न सरकारले चासो देखाउनुपर्ने हो । सरकारमा बसेकाहरु कहाँ कमिसन पाइन्छ भनेर ढुकेर बसेका छन् यस्तो अवस्थामा केरा उत्पादकको समस्या सुन्ने समय हुँदैन । तसर्थ सरकारले किसानका समग्र समस्यालाई पहिचान गरेर समाधान गर्न जरुरी छ । किस्ता किस्तामा समस्या समाधान गर्ने उापयमा लाग्नु हुँदैन । किसानका समस्यालाई समाधान गर्ने हो भने कृषि पेशामा आकर्षण बढ्छ । कृषि पेशमा आकर्षण बढे मात्र उत्पादनमा बृद्धि हुन्छ र आर्थिक समृद्धिको बाटोमा मुलुक अघि बढ्छ । यस्तो बिषयमा नागरिक पनि सचेत हुन जरुरी छ ।