कृषि क्षेत्रको व्यवसायीकरणले मात्रै आर्थिक उन्नति सम्भव छ: इजरायली राजदूत

योगेश रावल
टीकापुर, २२ मंसिर/नेपालका लागि इजरायली राजदूत खनान गोडेरले कृषि क्षेत्रलाई व्यवसायी करण गरे मात्रै मुलुकले आर्थिक उन्नति गर्ने बताउनु भएको        छ ।
सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकायले बुधबार टीकापुरमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले परम्परागत रुपमा गरिँदै आएको कृषिले आर्थिक उन्नति सम्भव नरहेको बताउनुभयो ।
‘यो इजरायलको आजको अनुभव हो’ उहाँले भन्नुभयो–‘आर्थिक उन्नतिका लागि कृषि क्षेत्र को व्यवसायीकरण गर्नैपर्छ ।’


उहाँले नेपालमा बढ्दो भूखण्डिकरणले पनि कृषि क्षेत्र ओरालो लागेको बताउँदै खेती योग्य जमिनलाई टुक्रिनबाट रोक्नु पर्ने बताउनुभयो । उहाँले जमिनको खण्डिकरणले प्रविधिको प्रयोग सम्भव नभएकाले कृषि पेसाको व्यवसायीकरणमा प्रविधि को प्रयोग जरुरी रहेको बताउनु भयो । उहाँले भूखण्डिकरण नेपाल को प्रमुख चुनौती रहेको बताउँदै राज्यका उपल्लो निकायहरुबीच समन्वय हुनु आवश्यक रहेको बताउनुभयो ।
‘सरोकारवालाहरुबीच समन्वय छैन’ उहाँले भन्नुभयोे ‘जसका कारण दिनदिनै जमिन टुक्रिँदै गएको छ । जसले प्रविधिको प्रयोग हुन सकेको छैन ।’
उहाँले कृषकको सङ्ख्या धेरै हुनु पनि नेपालका लागि चुनौतीको विषय भएको बताउनुभयो । उहाँले धेरै व्यक्तिले कृषि पेसा गरेर मात्रै कृषि क्षेत्रको विकास हुन्छ भन्नु गलत भएको बताउनु भयो । उहाँले त्यसको ज्वलन्त उदाहरण इजरायललाई हेर्न सकिने बताउनुभयो ।
‘हामीसँग २ प्रतिशत जनसंख्या ले मात्रै कृषि पेसा गर्छन् तर तपाईहरुकोमा ६५ प्रतिशत जनसंख्या कृषि पेसामा संलग्न छ’ उहाँले भन्नुभयोे –‘तपाईहरुको र हाम्रो उत्पादनलाई हेर्नुस् । थोरै व्यक्तिले ठुलो मात्रामा कृषि पेसा गर्नुपर्छ अनि धेरै उत्पादन गर्न सकिन्छ ।’
उनले इजरायल सरकारले नेपालको कृषि क्षेत्रको विकासमा सहयोग गर्दै आएको र आगामी दिनमा समेत सहयोग गर्न तयार रहेको बताउनुभयो । उहाँले सहयोग आदानप्रदानका लागि सरकारबीच सम्झौता समेत भएको जानकारी दिनुभयो ।
उनले नेपाल र इजरायलको सम्बन्ध सुरु भएको ६२ वर्ष पूरा भएको बताउँदै सहयोग आदान प्रदानका लागि आफूले मध्यस्थकर्ताको भूमिका निर्वाह गर्ने बताउनुभयो । उहाँले सन् १९६० देखी दुई देशबिच गहिरो मित्रता कायम रहेको बताउनु भयो ।
उहाँले इजरायल सरकारले नेपालमा कृषि क्षेत्रमा मात्रै नभई पर्यटन, शिक्षा, स्वास्थ्य लगायत का क्षेत्रमा समेत लगानी गर्दै आएको बताउनु
भयो । उहाँले अन्य थप क्षेत्रमा समेत लगानी गर्न इजरायल सरकारले तयारी थालेको जानकारी दिनुभयो ।
कार्यक्रममा सुदूरपश्चिम विश्व विद्यालयका उपकुलपति प्रा।डा।अमरराज जोशी, रजिस्ट्रार प्रा। यज्ञराज पाठक, कृषि विज्ञान संकायका डीन प्रा।डा। लालप्रसाद अम्गाई लगायतले आफ्नो भनाइ राख्नुभएको थियो । विश्व विद्यालय मा अध्ययनरत विद्यार्थीले इजरायल मा पढ्न जाने वातावरण तयार भइरहेको डीन अम्गाईले जानकारी दिनुभयो । उहाँले अगस्ट सम्म ५० जना विद्यार्थी त्यता जाने गरी गृहकार्य भइरहेको बताउनुभएको छ ।