टीकापुर, ५ साउन/कृषिबाट देशलाई आत्मनिर्भर बनाउने परिकल्पना गरिएको भए पनि कृषि क्षेत्र अझै व्यावसायिक बन्न नसकेको कृषिका जानकारहरुले बताएका छन् ।
टीकापुर जेसीजको आयोजना मा सञ्चालन भैरहेको सप्ताह व्यापी कार्यक्रम अन्तर्गत शुक्रबार भएको कृषि क्षेत्रको जनशक्ति व्यवस्थापनका लागि भएको अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरूले कृषि क्षेत्र व्यावसायिक बन्न सकेमात्र देश कृषिमा आत्म निर्भर हुन सक्ने बताएका हुन ।
सुदुरपश्चिम विश्वविद्यालय कृषि बिज्ञापन संकायका प्रमुख सुशील न्यौपानेले कृषि क्षेत्रलाई व्यावसायिक बनाउन नसक्दा कृषिमा उत्पादन भएको जनशक्ति बाहिर जानुपर्ने बाध्यतामा रहेको बताउनुभएको छ ।
उहाँले अवसरको खोजीमा भएकाहरुले सहजै अवसर नपाउँदै शिक्षाको औचित्य माथी प्रश्न उठेको बताउँदै अहिले कृषि बाट उत्पादन भएको जनशक्ति पनि त्यहीँ स्थितिमा रहेको बताउनुभयो । “देशभर वार्षिक दुई हजार दक्ष जनशक्ति कृषि क्षेत्रमा मात्रै उत्पादन हुने गरेको छ । त्यसमध्ये बढीमा एक सय जनाले स्वदेशमा कामको अवसर पाउँछन् होला ।“ उहाँले भन्नुभयो, “व्यावसायिक रुपमा सम्भावना नहुँदा आज विद्यार्थी उच्च शिक्षामा भन्दा विदेश जान राजी भैरहेको छ ।“
टीकापुर जेसीजका स्थानीय संघसंस्था समन्वय संयोजक तथा कार्यक्रमका संयोजक झलनाथ खनालको अध्यक्षतामा भएको कार्यक्रममा पत्रकार परमानन्द पाण्डे, टीकापुर जेसीजका अध्यक्ष रुपक बहादुर विष्ट, स्ववियु सभापति नृपजंग थापा लगायतले बोल्नुभएको थिए ।
स्वतन्त्र विद्यार्थी युनियन टीकापुर बहुमुखी क्याम्पसको समन्वयमा भएको कार्यक्रमको स्वागत टीकापुर जेसीजका उपाध्यक्ष टेकेन्द्र सिंह विष्टले गर्नुभएको थियो ।
कार्यक्रम सञ्चालन महासचिव भरत भण्डारीले गर्नुभएको थियो ।