कृषि विकास बैङ्कको भवन उद्घाटन

टीकापुर, ८ भाद्र/कैलालीस्थित कृषि विकास बैङ्क टीकापुर शाखाले बिहीबारबाट आफ्नै भवनबाट सेवा दिन थालेको छ । भवनको उद्घाटन बैङ्का कार्यकारी प्रमुख गोबिन्द गुरुङले एक कार्यक्रमका बीच उद्घाटन गरेपछि बैङ्कले आफ्नै भवनबाट सेवा दिन थालेको हो । रु। एक करोड ११ लाखमा निर्माण भएको भवन टीकापुर बजारको मुख्य ठाउँमा छ । भवन निर्माण भएपछि कर्मचारी र सेवाग्राही दुबैलाई सहज हुने भएको छ ।
यसअघि निर्माण भएको भवन सशस्त्र द्वन्द्वमा भत्काइएको थियो र त्यसपछि भाडामा बसेर सेवा दिइरहेको थियो । वि।सं। २०४३ सालदेखि बैङ्कले टीकापुरमा सेवा दिंदै आएको छ । भवन उद्घाटन पछि बैङ्कका कार्यकारी प्रमुख गुरुङले निर्बाहमुखी कृषि प्रणाली मा लगानी गर्दै आएकोमा अहिले निर्बाहमुखी होइन व्यबसायीकरण गर्ने गरी कृषि क्षेत्रलाई कायापलट गर्न लागेका छौँ भन्नुभयो । ‘‘कृषि उत्पादन बढाएर देशको अर्थतन्त्र कसरी बलियो बनाउने भन्ने बारेमा सचेत छौँ’’, गुरुङले भन्नुभयो, ‘‘विदेशबाट आउने उत्पादन प्रतिस्थापन गर्न सकेका  छैनौँ ।’’


उहाँले देशको ६० प्रतिशत जनशक्ति लागेको कृषि क्षेत्रले कुल ग्राहस्थ उत्पादनमा जम्मा २४ प्रतिशत योगदान दिएको छ भन्नुभयो । ‘‘तोरी क्यानडा र अष्टे«लियाबाट आउँछ, धान बर्मा बाट भारत हुँदै आउँछ’’, गुरुङले भन्नुभयो, ‘‘कृषिमा व्यापक रुपान्तरणको आवश्यक्ता छ ।’’ उहाँले कृषि विकास बैङ्क कृषि र किसानका लागि आधार हो भन्नुभयो ।
कृषिमा संलग्न जनशक्ति घट्दै जाँदा कृषि उत्पादन घट्दै गएको हो भन्नुभयो । कृषि विकास बैङ्कले परम्परागतसँगसँगै अत्याधुनिक सेवा दिन थालेको भन्दै गुरुङले २७१ शाखामार्फत रु। एक सय ८२ अर्ब ऋण लगानी तथा रु। एक सय ९९ अर्ब निक्षेप संकलन र एक लाख ४२ हजार किसानले ऋण लिएको गुरुङले जानकारी गराउनुभयो ।
कार्यक्रममा सुदूरपश्चिम प्रदेश निर्देशक अर्जुनप्रसाद ढुंगानाले कृषिलाई नछोड्न अरुलाई जोड्ने नीति अनुसार अरु बैङ्कसँग प्रतिस्प्रर्धा गर्दै सेवा दिइरहेको बताउनुभयो । उहाँले वि।सं। २०२४ सालमा कृषिलाई अग्राधिकार दिदै सुरुवात भएको बैङ्क २०६१ सालबाट कम्पनी ऐनअनुसार अरु जस्तै प्रतिस्प्रधी बन्नुपर्ने अवस्था छ भन्नुभयो । कार्यक्रममा स्थानीय जन प्रतिनीधि, सबल कृषक र समाजसेवीले बैङ्कले प्रदान गर्दै आएको सेवा बारेमा चर्चा गर्दै थप प्रभावकारी बनाउन सुझाव दिनुभएको थियो ।
सोही कार्यक्रममा टीकापुर १ का वडाध्यक्ष मोहनबहादुर लुहारले कृषि विकास बैङ्कले किसान लाई सेवा दिइरहेको भए पनि बैङ्क ब्याजदर भने घटाउनु पर्ने सुझाव दिनुभयो । ‘‘वास्तविक किसानलाई बैङ्कले सहुलीयत दरमा ऋण दिने हो भने उत्पादन वृद्धि हुन्छ’’, उहाँले भन्नुभयो, ‘‘सानो सानो ऋणका लागि किसानहरु साहुकहाँ जानुपर्ने वाध्यता अझैँ छ ।’’
कार्यक्रममा टीकापुर उद्योग बाणिज्य संघका अध्यक्ष चक्रपाणी सापकोटा, पत्रकार भुवनेश्वर अधिकारी,खड्ग स्मृती माविका प्रअ केशर बहादुर रावल, जालपादेबी सेवा समिति का अध्यक्ष हर्कबहादुर रावल, कृषक टेकेन्द्र धामी , पूर्ब कर्मचारी लालबहादुर साउँद लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
यज्ञ प्रशाद न्यौपानेको सभापतित्वमा भएको उक्त उद्घाटन कार्यक्रममा स्वागत बैङ्कका टीकापुर शाखा प्रमुख दिपेन्द्र बहादुर रावलले गर्नुभएको थियो भने सञ्चालन प्रदिप जोशीले गर्नुभएको थियो ।
टीकापुर शाखामा १२ हजार बचतकर्ता तथा ५ सय जनालाई ऋण लगानी गरेको जनाइएको छ ।