गीता चौधरी
टीकापुर, २६ मंसिर/कैलाली को जानकी गाउँपालिका वडा नं ८ भगरैयाकी छिकन्या चौधरी अहिले ४० वर्षको हुुनुभयो । उहाँ विगत १६ वर्षदेखि परिवार नियोजनको अस्थाई साधनका रुपमा पिल्स प्रयोग गरिरहनु भएको छ । सन्तानको रहर पुगे पछि चौधरीले परिवार नियोजनका साधनकारुपमा पिल्स प्रयोग गर्न थालेको बताउनुहुन्छ । उहाँका एक छोरा ३ छोरी छन् । अब सन्तान जन्माउने योजना नभए पनि कमजोर भएकाले परिवार नियोजनको स्थायी बन्ध्याकरण नगरी अस्थायी साधन प्रयोग गर्न बाध्य भएको उहाँ बताउनुहुन्छ । अस्थायी साधन पिल्स प्रयोग गरे पनि नियमितरुपमा प्रयोग गर्न भने नपाएको उहाँ बताउनु हुन्छ । “मैले अस्थायी साधनका रुपमा पिल्स प्रयोग गर्न थाले पनि नजिकैको स्वास्थ्य संस्थामा पिल्स नियमित रुपमा पाउथेन, कहिले स्वास्थ्य संस्था त कहिले पसल बाट किनेर खाए, पसलमा नपाए पछि नियमितरुपमा प्रयोग गर्न पनि पाउथेन”, उहाँले भन्नुभयो, ‘‘पिल्सको अनियमितताले केही असर गर्छ कि भन्ने पीरले सारै सताउँथ्यो ।’’
“नजिकैको स्वास्थ्य चौकीमा पिल्स मात्र पाइन्थ्यो परिवार नियोजनको अन्य साधन प्रयोग गर्नका लागि टीकापुर जानुपर्ने थियो, टीकापुर जानको लागि आफूसँग सवारी साधन थिएन, त्यसैले मैले पिल्स प्रयोग गर्न सुरु गरेकी हुँ’’, उहाँ भन्नुहुन्छ । लामो समयसम्म पिल्स प्रयोग गरेकी छिकन्यालाई अन्य समस्या नदेखिए पनि अहिले महिनावारी रोकिएको छ । “सुरुदेखि नै निरन्तररुपमा पिल्स प्रयोग गरिरहे अहिले पिल्सको असर हो की के हो महिनावारी रोकिएको पनि ५ महिना भईसक्यो”, उहाँ भन्नुहुन्छ, ‘‘छिट्टै महिनावारी सुकेजस्तो लाग्दैछ । यसले पछि केही असर गर्ने हो की भन्ने चिन्ता छ ।’’
त्यस्तै लम्की चुहा नगरपालिका का वडा नं ३ का रेश्मा चौधरी पनि परिवार नियोजनको अस्थायी साधन पिल्स नै प्रयोग गरिरहनु भएको छ । उहाँले विगत १२ वर्ष देखि पिल्स प्रयोग गर्न थाल्नुभएको हो । नजिकैको स्वास्थ्य संस्थामा परिवार नियोजनका अन्य साधन नपाएपछि पिल्स प्रयोग गर्न थालेको उहाँ बताउनुहुन्छ । पिल्स त्यति प्रभावकारी नलागे पनि पहिले देखी नै पिल्स प्रयोग गरेकोले अहिले पनि पिल्स नै प्रयोग गरिरहेको छु उहाँ भन्नु हुन्छ ।
“नजिकैको स्वास्थ्य संस्थामा अन्य साधन भए त अन्य पनि प्रयोग गर्थे होला थिएन पिल्स नै प्रयोग गर्न सुरु गरँे”, उहाँले भन्नुभयो, ‘‘नियमितरुपमा पिल्स प्रयोग गरे पनि बीचमा कहिले काहीँ छुटेमा बच्चा रहन्छकि, केही स्वास्थ्य समस्या हुन्छ कि भन्ने चिन्ता हुन्छ ।’’
पछिल्लो समय पिल्समात्र पाईने स्वास्थ्य संस्थामा अहिले परिवार नियोजनका अन्य साधन पनि पाउन थालेको छ । अहिले महिलाहरु आफूलाई मन परेको परिवार नियोजनका साधन प्रयोग गर्न थालेकाछन् ।
जानकी गाउँपालिकाकै पार्वती चौधरी ३ वर्षसम्म पिल्स प्रयोग गर्नुभयो । नजिकैको स्वास्थ्य संस्थामा परिवार नियोजनका अन्य साधन पनि पाउन थालेपछि डिपो सुई लगाउन थाल्नुभयो । डिपो सुई पनि ३/३ महिनामा लगाउन झन्झट लागेपछि अहिले ईम्प्लान्ट प्रयोग गरेको उहाँले बताउनुभयो । “पहिले पिल्स बाहेक केही थिएन पिल्स प्रयोग गरँे, पिल्स प्रयोग गरेको ३ वर्षपछि डिपो सुई प्रयोग गरँे, डिपो पनि ३/३ महिनामा फेर्नुपर्ने भएकोले झन्झन्टिलो लाग्यो, अहिले ईम्प्लान्ट प्रयोग गरेको छु”, उहाँले भन्नुभयो, “अहिले ईम्प्लान्ट प्रयोगपछि ५ वर्षको लागि ढुक्क छु ।”
परिवार नियोजनका अस्थायी साधन प्रयोगले कतिपय महिलालाई समस्या भए पनि धेरै महिला अहिले अस्थायी साधन नै प्रयोग गरिरहेका छन् । स्थायी बन्ध्याकरण गरेपछि अलि बढि खर्चिलो हुने र शरिर पनि कमजोर हुने भएकोले अस्थायी साधन नै प्रयोग गर्ने गरेको महिलहरु बताउँछन् । महिलाहरुले अस्थायी साधन पिल्स, डिपो, आई।यु।सी।डी।, ईम्प्लान्ट लगायतका साधन प्रयोग गर्ने गरेका छन् र स्वास्थ्य संस्थामा पनि यी साधनहरु उपलब्ध रहेका स्वास्थ्यकर्मीले जानकारी दिए ।
टीकापुर अस्पतालको बरिष्ठ अस्पताल नर्र्सिंङ्ग निरीक्षक कल्पना खड्काले औषधीको प्रयोगले महिलाहरुमा कसैलाई वाकवाक लाग्ने, कसैको रगत बढी हुने, खाना खान मन नलाग्ने लगायतका समस्याहरु देखिने गरेका बताउनु भयो । पछिल्लो समय घरपरिवारको दवावले र अनिश्चित गर्भ रहेमा महिलालाई नै समस्या हुने भएकोले महिलाहरु अस्थायी साधन बढी प्रयोग गर्न थालेको उहाँ बताउनुहुन्छ । ‘‘कति बच्चा जन्माउने, कति जन्मान्तरमा बच्चा जन्माउने, कुन साधन प्रयोग गर्ने महिलाको प्रजनन् स्वास्थ्यको अधिकारको कुरा हो तर यो कुरा को बुझाइमा अझ पनि कमी छ’’, उहाँ भन्नुहुन्छ, ‘‘अस्थायी साधन प्रयोगले महिलालाई समस्या त छ, तर महिलाहरु घरपरिवारको दवावले आफूलाई मन परेको साधन प्रयोग गर्न नपाउने, चाहेको बेला प्रयोग गर्न नपाउने, अनिश्चित गर्भ भई हाले पनि महिला नै दुःख पाउने भएकाले महिलाहरु सम्सया भोगिरहेका छन् । महिलालाई स्वास्थ्यबारे, प्रजननन् स्वास्थ्य अधिकारबारेमा सचेत गराउन सके राम्रो हुने थियो ।”
टीकापुर अस्पतालको तथ्यांक हेर्दा अहिले चालु आर्थिक वर्षमा १ हजार २ सय ३६
जनाले अस्थायी साधन प्रयोग गरिरहेका छन् । गत आर्थिक वर्ष २०७८/२०७९ मा ८ सय १६ जनाले अस्थायी साधन प्रयोग गरेका छन् । ६ वर्षअघि आर्थिक वर्ष २०७४/२०७५मा अस्थाई साधन प्रयोग गर्नेको संख्या ९ सय ३ जना रहेका छन् ।
पछिल्लो समय पालिकामा रहेका स्वास्थ्य संस्थाबाट पनि धेरैले अस्थायी साधन प्रयोग गरिरहेका छन् । टीकापुर नगरपालिकाको तथ्यांक हेर्दा पछिल्लो समय नगरपालिकाबाट अस्थायी साधनको प्रयोग गर्नेको संख्या धेरै रहेको छ । टीकापुर नगरपालिकाबाट अहिले चालु आर्थिक वर्षमा ४ हजार ६ सय ३० जनाले अस्थायी साधन प्रयोग गरिरहेका छन् । गत आर्थिक वर्ष २०७८/२०७९ मा ४ हजार ६ सय जनाले अस्थायी साधन प्रयोग गरेका छन् । ६ वर्ष अघि आर्थिक वर्ष २०७४/ २०७५ मा २ हजार ९ सय ९ जनाले प्रयोग गरेका छन् ।
टीकापुर नगरपालिकाका स्वास्थ्य प्रवद्र्धन शाखाका संयोजक बलबहादुर रावलले टीकापुर नगरपालिकामा अस्थाई साधन प्रयोग गर्नेको संख्यामा वृद्धि भईरहेको जानकारी दिनुभयो । उहाँले टीकापुर नगरपालिकाबाट अस्थायी साधन प्रयोगसँंगै स्थायी बन्ध्याकरणको लागि पनि शिविर सञ्चालन गर्ने गरेको बताउनुभयो । स्थायी बन्ध्याकरणमा पनि बढी महिला नै रहेका उहाँले जानकारी दिनुभयो ।
“टीकापुर नगरपालिकामा अस्थायी साधन प्रयोग गर्नेको संख्या बढ्दो छ, हामीले स्थायी बन्ध्याकरण का लागि शिविर सञ्चालन गर्ने गरेका छौ”, उहाँले भन्नुभयो, ‘‘स्थायी बन्ध्याकरण मा पनि बढी संख्या महिलाको नै छ ।’’
रावलकाअनुसार समाजमा अहिले पनि पुरुषले स्थायी बन्ध्याकरण गरेमा पूजापाठ गर्न मिल्दैन,शारीरिक रुपमा कमजोर हुन्छन् जस्ता गलत मान्यताले प्रश्रय पाइरहेकाले महिलाको संख्या बढी रहेको छ ।
रावलले टीकापुर नगरपालिकाले सुरक्षित मातृत्वका कार्यक्रम समेत सञ्चालन गरिरहेको बताउनुभयो । उहाँले महिलाको स्वास्थ्यलाई मध्यनजर गरी विभिन्न कार्यक्रम संचालन गरिरहेको जानकारी दिनुभयो । “हामीले महिलाको स्वास्थ्यलाई मध्यनजर गरी गाउँमै गएर निशुल्क भिडियो एक्सरे गर्ने, स्वास्थ्य संस्थामा तथा अस्पतालमा सुत्केरी हुन आउने गर्भवतीलाई निशुल्क एम्बुलेन्स सेवा सुविधा, निशुल्क रगतको व्यवस्था गर्ने लगायतका कार्यक्रम सञ्चालन गरिरहेका छौँ”, उहाँले भन्नुभयो, ‘‘महिलाको प्रजनन् स्वास्थ्यलाई प्राथमिकतामा राखेर यी कार्यक्रमहरु सञ्चालन गरिरहेका छाँै ।’’
कैलालीको जानकी गाउँपालिका मा तथ्यांड्ढ हेर्दा पनि अस्थायी साधन प्रयोग गर्ने संंख्यामा वृद्धि भएको देखाइएको छ । जानकी गाउँपालिका को स्वास्थ्य शाखाको स्वास्थ्य व्यवस्थापन सूचना प्रणाली अनुसार चालु आर्थिक वर्ष २०७९/२०८० मा ३ हजार १ सय ४८ रहेको छ । आर्थिक वर्ष २०७८/२०७९ मा ३ हजार २ सय ६२ रहेको छ भने ६ वर्ष आर्थिक वर्ष २०७४/२०७५ मा २ हजार ८ सय ७४ रहेको छ ।
कैलाली जिल्लाकै तथ्यांड्ढ हेर्दा पनि अस्थायी साधन प्रयोग गर्ने संख्यामा वृद्धि भएको देखाईएको छ । कैलाली जिल्ला स्वास्थ्य कार्यालयको परिवार नियोजन सुपरभाईजर निरीक्षक ओलट नारायण चापागाईका अनुसार चालु आर्थिक वर्ष २०८९/२०८० मा अस्थायी साधन प्रयोग गर्ने संख्या ५३ हजार ५ सय ९८ रहेको छ । गत आर्थिक वर्ष २०७८/२०७९ मा ४३ हजार ७ सय ९८ रहेको छ । भने ५ वर्ष अघि आर्थिक वर्ष २०७४/२०७५ मा ३९ हजार १ सय ५८ रहेको छ ।
पालिका र जिल्लाको तथ्यांड्ढ हेर्दा अस्थायी साधन प्रयोगमा महिलाको संख्यामा वृद्धि भईरहेको छ । अझै पनि कतिपय महिलाले परिवार नियोजनका साधन प्रयोग गरिरहे पनि उनीहरुलाई प्रजनन स्वास्थ्य महिलाको अधिकार हो भन्ने ज्ञान नभएको अवस्था छ । उनीहरुले आफ्नो अधिकार बुझ्न नसकेकै कारण विभिन्न समस्या भोगि रहेको बताउँछन् ।