कैलालीमा जन्म दर्ता व्यवस्थापन प्रणाली परियोजना सञ्चालन

दुर्गा देवकोटा
टीकापुर, २३ चैत्र/कैलालीमा जन्म दर्ता व्यवस्थापन प्रणालीलाई प्रभावकारी बनाउन जन्म दर्ता व्यवस्थापन प्रणाली परियोजना सञ्चालन भएको छ । परियोजनाले कैलालीका १३ वटै पालिकामा बर्थिङ सेण्टरमा जन्म भएका बालबालिकालाई जन्मने वित्तिकै स्वास्थ्य संस्थामार्फत् स्वास्थ्य जन्म प्रतिवेदन उपलब्ध गराउने गरेको छ ।
परियोजना नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएस डब्लु ए) र जिआइजेड को साझेदारीमा कैलाली जिल्लाका सबै स्थानिय तहमा लागू भएको छ ।
नेपाल सरकारद्वारा स्वास्थ्य क्षेत्रमा लागू गरिएको जन्मदर्ता व्यवस्थापन प्रणाली कार्यक्रम तथा समयमै जन्मदर्तालाई प्रोत्साहन गर्न यो कार्यक्रमले सघाउने गरेको छ । कार्यक्रमले अबको ३ महिनामा स्वास्थ्यकर्मीलाई सफ्टवयर सञ्चालनबारे तालिम दिने, महिला स्वास्थ्य स्वयम सेविकालाई तालिम, घटना दर्ता सप्ताहलाई सहयोग लगायतका कार्य गर्ने परियोजना संयोजक देबराज बडुले बताउनुभयो ।
ब्यक्तिगत घटना दर्ता प्रणाली विशेष गरी स्थानीय सरकारमा जन्मदर्ता र गुणस्तरीय तथ्यांक उपलब्धता बलियो बनाउने उद्देश्यले परियोजना सञ्चालन भएको हो । परियोजनाले कैलालीका ६३ बर्थिङ सेण्टरका स्वास्थ्यकर्मीलाई सफ्टवयर सम्बन्धी तालिम दिनेछ । कैलालीमा ५६ सरकारी र ७ निजि स्वास्थ्य संस्थामा बर्थिङ सेण्टर सञ्चालनमा छन् ।
अभियान अन्र्तगत टीकापुरमा गएको असोजबाट जन्म प्रतिवेदन दिन थालिएको हो । टीकापुर अस्पताल, धनसिंहपुर स्वास्थ्य चौकी र नारायणपुर स्वास्थ्य चौकीमा जन्मिएका हालसम्म ७५९ बालबालिकालाई जन्म प्रतिवेदन उपलब्ध गराइएको टीकापुर नगरपालिका जनस्वास्थ्य प्रवद्र्धन उपशाखा संयोजक बलबहादुर रावलले बताउनुभयो ।
समयमै जन्म प्रमाणपत्र दिँदा पछि बच्चा जन्मेको समय र मिति बदल्न      मिल्दैन । बच्चाको नाम भने जन्मदर्ता गर्दा बदल्न मिल्ने व्यवस्था रहेको छ । स्वास्थ्य प्रतिवेदन समयमै दिँदा जन्मदर्तालाई व्यवस्थित गर्न सघाउने र यसले तथ्यांक व्यवस्थापन, कानूनी अधिकार पाउन सहयोग हुने वडा नं. १ का वडाध्यक्ष मोहन लुहार विक बताउनुभयो ।
सरकारले यसअघि स्वास्थ्यकर्मी, वडा सचिव लगायतलाई तालिम दिइसकेको छ भने टीकापुर र सेती अस्पतालका स्वास्थ्यकर्मीलाई सफ्वयर सञ्चालनबारे परियोजनाले तालिम दिने तयारी गरेको छ ।