कैलाली–१ मा चौधरी, रावल र श्रेष्ठको उम्मेदवारी दर्ता

टीकापुर, २४ असोज/कैलाली प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ बाट चार पटक प्रत्येक्ष र एक पटक समानुपातिकबाट गरी पाँच पटक प्रतिनिधि सभामा पुग्नु भएका र चार पटक मन्त्री बनिसक्नु भएका नेपाली काँगे्रसका केन्द्रीय सदस्य रामजनम चौधरीले उम्मेदवारी दिनुभएको छ ।
२०४८ सालदेखि निरन्तर संसदमा रहनु भएका चौधरी २०७४ सालको निर्वाचनमा कैलाली क्षेत्र नम्बर ३ मा गठबन्धनका उम्मेदवार गौरीशंकर चौधरीसंग पराजित हुनुभएको थियो । यस पटक भने क्षेत्र परिवर्तन गरी कैलाली १ मा काँग्रेस–माओवादी केन्द्रको साझा उम्मेदवार बन्नु भएको छ । नेता चौधरी काठमाडौंमा रहनु भएको र वर्षातका कारण जहाज उडन नसकेपछि आफू वारेस भएर उम्मेदवारी दर्ता गरेको काँगे्रसका क्षेत्रीय सभापति प्रकाश शाहले बताउनुभयो ।
यसअघि तत्कालिन राजपाका उम्मेदवार रेशमलाल चौधरी विजयी भएको यस क्षेत्रमा यस पटक नयाँ पार्टी नागरिक उन्मुक्ति पार्टीका तर्फबाट रेशमलाल चौधरीकी श्रीमती रञ्जिता श्रेष्ठको उम्मेदवारी परेको छ । काँग्रेसले पूर्वमन्त्री तथा काँगे्रसका केन्द्रीय सदस्य रामजनम चौधरी, नागरिक उन्मुक्तिले पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठलाई उम्मेदवार बनाएपछि नेकपा (एमाले) ले पनि टीकापुर नगरपालिकाका निवर्तमान नगरप्रमुख तथा पार्टीका प्रदेश सदस्य तपेन्द्रबहादुर रावललाई उम्मेदवार बनाएको छ ।
२०७४ को प्रतिनिधि सभा निर्वाचनमा पाएको मत र २०७९ को स्थानीय तहको निर्वाचनमा पाएको मतका आधारमा नागरिक उन्मुक्ति पार्टी आफ्ना उम्मेदवार विजयी हुने दावी गर्छन भने स्थानीय तहको निर्वाचनमा भएको गठवन्धनको मत नागरिक उन्मुक्तिको प्रतिश्पर्धामा रहेको र अहिले काँगे्रसले हेवी वेट नेता रामजनम चौधरीलाई उम्मेदवार बनाएकाले काँगे्रस विजयी हुने दावी गर्छन । नेकपा (एमाले) भने काँगे्रस उम्मेदवारका लागि नयाँ निर्वाचन क्षेत्र भएको र नागरिक उन्मुक्तिका उम्मेदवारमा राजनीतिक अनुभव नभएका कारण यसअघि टीकापुरको नगर प्रमुख भैसकेकाले एमाले उम्मेदवार पनि जितका लागि प्रतिश्पर्धी भएको दावी गर्छन् ।
प्रतिनिधि सभा सदस्यका लागि राप्रपाबाट लोकेन्द्रबहादुर कुँवर, स्वतन्त्रमा ललित थापा लगायतको उम्मेदवारी परेको छ ।