क्याम्पसको जग्गा खाली गर्न र भूमिहीन, सुकुम्बासीलाई अन्यत्र व्यवस्थापन गर्न टीकापुर बहुमुखी क्याम्पसको आग्रह

टीकापुर, १८ साउन/सुदूरपश्चिम विश्वविद्यालय अन्तर्गत को टीकापुर बहुमुखी क्याम्पसले आफ्नो अतिक्रमित जग्गा खाली गरी भूमिहीन, सुकुम्बासीलाई अन्यत्र व्यवस्थापन गर्न आग्रह गरेको छ ।
शनिबार विज्ञप्ति जारी गर्दै क्याम्पसले राज्यका सम्बन्धित निकायले यथाशीघ्र वास्तविक मुक्तकमैया, भुमिहीन सुकुम्बासी लाई अन्यत्र व्यवस्थापन गरी उनीहरुलाई बसोबासको दीर्घकालीन सुनिश्चितता गरेर क्याम्पसको अतिक्रमित जग्गा क्याम्पसकै भोगचलनमा ल्याइ दिन आग्रह गरेको हो ।
क्याम्पसको अन्य प्रयोजनका साथै कृषि विज्ञानलाई कृषिका विविध कार्यक्रम सञ्चालनका लागि जग्गाको अभाव भइरहेको अवस्थामा क्याम्पसको शैक्षिक उन्नयनका लागि जग्गा क्याम्पस ले उपभोग गर्नुपर्ने आवश्यकता देखिएको विज्ञप्तीमा उल्लेख गरिएको छ । जग्गा अतिक्रमण गरी बसेका व्यक्तिहरूले समेत सधैं नै अनिश्चितताको बन्दी हुनुभन्दा स्थायी बसोबासको प्रक्रियामा लाग्नुपर्ने विज्ञप्तीमा उल्लेख गरिएको छ ।
तत्कालीन टीकापुर विकास समितिले क्याम्पसलाई स्थापना कालमा ८० बिगाह र २०६२ जेठ १९ को बोर्ड बैठकबाट थप ३ शय विगाह जग्गा प्रदान गरेको थियो । उक्त ३ शय ८० बिगाह जग्गाको श्रेस्ता क्याम्पसको नाममा कायम छ । विज्ञप्तिमा ३ शय ८० विगाहमध्ये ३ शय विगाह जमिन २०६३ सालदेखि नै मुक्तकमैया, सुकुम्बासी, भूमिहीन जस्ता नाममा व्यक्ति तथा समूह द्वारा अतिक्रमित हुँदै आइरहेको उल्लेख छ ।
विज्ञप्तिमा अतिक्रमित भएको समयदेखि हालसम्म टीकापुर बहुमुखी क्याम्पसले पटक पटक सम्बन्धित व्यक्ति, निकाय, राज्य सँग बैठक, अन्तक्रिया, गोष्ठीको आयोजना गर्नुका साथै अनुरोध पत्र, ज्ञापनपत्र, ध्यानाकर्षण पत्र, प्रेस विज्ञप्ति तथा विविध खाले दबाबका माध्यमद्वारा निरन्तर पहलकदमी गर्दै आएको भनिएको छ ।