खुला मैदान संरक्षण गर

सम्पादकीय

टीकापुर नगरपालिकाका जनप्रतिनीधिले बजार क्षेत्रका बिभिन्न ब्लकमा भएका खुला मैदानको महत्व बmुझन् सकेका छैनन् । खुला मैदानको महत्व बुझ्न नसक्दा खुला मैदान सरक्षण हुन सकेका छैनन् । खुला मैदानमा बगैचा बनाउने योजना हुनुपर्ने थियो तर जनप्रतिनीधिले सडकमा बगैचा बनाउने प्रयास गरे । गुलावको सहर बनाउने प्रयास भयो तर बिभिन्न ब्लकमा रहेका खुला मैदानलाई पार्क बनाउने प्रयास भएन । बिभिन्न ब्लकमा रहेका खुला मैदानलाई क्रमशः पार्कको रुपमा विकास गर्दै जाने हो भने टीकापुरको सुन्दरता बढ्दै जान्छ । सडकमा गुलाव फुलाउने रहर भयो तर भएका पार्कका बारेमा ध्यान गएन । पार्कमा बिरुवा र फूल रोप्दै गएको भए ५ बर्षमा अधिकांस खुला मैदान पार्कको रुपमा विकास भइसक्थे । खुला मैदानलाई पार्कको विकास गर्ने हो भने जथाभावी छाडा पशु पनि नियन्त्रण गर्न सहज हुने    थियो । टीकापुर नगरपालिकाको गुरुयोजना अनुसार बिभिन्न ब्लकमा खुला मैदान राखिएको छ । यस्ता खुलामैदानलाई जतिसक्यो चाडो पार्कका रुपमा विकास गर्ने ठोस योजना आउन जरुरी छ । टीकापुर त्यसै पनि व्यबस्थित सहर हो । यो व्यबस्थित सहरलाई सुन्दर बनाउने योजना आवश्यक छ । सडकमा गुलाव फुलाएर बजेट सक्नुभन्दा खुला मैदानलाई हराभरा बनाएको भए लाभ हुनेथियो । ब्लक ए मा सडक बत्ति बालेर झिलिमिली बनाइयो त्यही ब्लक ए संग जोडिएका अन्य ब्लकको अवथा हेर्ने हो भने गाउँ जस्ता देखिन्छन् । ब्लक ए सिगांरिदा सुन्दरता छाएको छ तर अन्य ब्लकलाई हेर्ने हो भने टीकापुरको सुन्दरता छरपस्ट हुन्छ । हरेक ब्लकमा भएका खुलामैदान लाई व्यबस्थित गर्ने हो भने नागरिकलाई पनि सहज हुन्छ । खुला मैदानलाई रमाउने स्थलका रुपमा प्रयोग गर्ने वातावरण नगरपालिकाले गर्नुपर्छ । जथाभावी बजेट खर्च गर्नुभन्दा खुला मैदानमा बजेट खर्च गरेको भए नागरिकले लाभ लिन सक्छन् । तसर्थ टीकापुर नगरपालिकाले खुला मैदान संरक्षण गर्ने नीति ल्याउन जरुरी छ । स्थानीयले पनि खुला मैदान संरक्षण गर्न ध्यान दिनुपर्छ ।