सम्पदकीय
गणतन्त्र आएपछि राजनीतिक दलका नेताहरु दिनप्रतिदिन बेथितिमा फस्दै गएका छन् । मुलुकलाई निकास दिनुभन्दा पनि छोटो समयमा कसरी अकुत कमाउने या आफ्नालाई पोस्ने रणनीतिमै भुल्दा मुलुक बेथितिमा फस्दै गएको हो । मुलुक चरम बेथितिमा फस्दै गएको छ तर सत्तामा बस्दै आएका नेताहरु स्विकार्न तयार छैनन् । कसैले प्रश्न ग¥यो भने बिरोधीको बिल्ला भिराउने र राज्य संयन्त्र प्रयोग गर्ने संस्कारको विकास हुँदै गएको छ । जुन गणतन्त्रका लागि सबै भन्दा दुखद पक्ष हो । गणतन्त्रमा चित्त नबुझेको कुरा नागरिकले राख्छन् । सामाजिक सञ्जालमा पनि राख्छन् । हिजो यिनै जनताले फूलका मालाले स्वागत गरेको कुरा भुलेर आज उछितो काढ्दा नेताहरुलाई रिस उठ्नु स्वभाविकै हो । सम्मान पाएका नेताहरुलाई जनताले घृणा गर्न थालेको कुरा थाहा छ तर आफुलाई सुधार्न तयार छैनन् । अहिलेको अवस्था धेरै बिग्रेको छ । बिग्रेको अवस्था सुधार्न नेताहरुले धेरै मेहनत गर्नुपर्ने अवस्था छ तर नेताहरु सुधार्न चाहदैनन् या सकिदैन भनेर बसेका छन् । नागरिक आजित छन् । हरेक क्षेत्रमा देखिएको बेथिति र राज्य कोषको दोहनले नागरिक आक्रोसित छन् । हिजो राजाको शासन सत्ताका बिरुद्ध बोलेर जनता आफ्ना पछि लगाएका नेताहरुले देशको अवस्था सुधार्ने सवालमा ठोस योजना ल्याउन सक्दैनन् । सुबिधा र अवसर मिलेर खान तयार छन् तर जनताको पक्षमा काम गर्न तयार छैनन् । जनता निरास भएर नागरिकता त्याग्न तयार छन् तर शासन चलाउनेहरुको मति सुध्रेको पाइदैन । गणतन्त्रमा नाफाखोरहरु हाबी हुँदै जाँदा राजनीति भनेको व्यापार हो भन्ने बुझाई बलियो हुन थालेको छ । हरेक व्यापारी सांसदको टिकक खोजिरहेको छ । नागरिकका सवालमा ग्रासरुटको कार्यकर्ताले काम गर्छ त्यही टिकट र अवसर लिनेबेला व्यापारीले लिन थालेका छन् । यस्तो बिकृतिमा पनि नेताहरु रमाइरहेका छन् । नागरिकको भावना बुझेर देश चलाएको भए आज जनताले व्यबस्थाप्रति घृणा गर्ने अवस्था हुँदेन थियो । हरेक कुरा देश र जनताका पक्षमा हुनुपर्ने भएपनि नेताहरु आफ्नो स्वार्थमा लाग्दै जाँदा समस्या भएको हो । तसर्थ राजनीतिक दलका नेताहरु समयमै सचेत हुन जरुरी छ ।