टीकापुर, १० असोज/टीकापुर ६ नारायणपुरमा २ गते देखि सञ्चालित गणेश उत्सव मंगलवार समापन भएको छ । समापन कार्यक्रममा टीकापुर नगरपालिकाका प्रमुख रामलाल डगांैरा थारुले समाजमा भावनात्मक एकता विकास गर्न बेला बखत गरिने यस्ता धार्मिक कार्यक्रम सहयोगी हुने बताउनु भयो ।
उहाँले धर्म र संस्कृति बचाउन सकिएन भने पहिचान मेटिन्छ भन्नुभयो । ‘‘बहुभाषिक र बहुजातीय मान्छे बस्छन् सबैको धर्म संस्कृतिको रक्षा गर्नु स्थानीय सरकारको कर्तव्य हो ’’ मेयर थारुले भन्नु भयो ,‘‘ धर्मका नाममा प्रोपकण्डा गर्ने प्रयास भइरहेको छ , सबै सचेत हुन जरुरी छ । ’’वडाध्यक्ष दिर्घ बहादुर ठकुल्लाले धर्म र संस्कृतिको जगेर्ना र पुस्ता हस्तान्तरण गर्ने गरी गरिएको कार्यक्रमले समाजलाई सुसस्कृत बनाउन मदत पुग्छ भन्नुभयो । उत्सव आयोजनाका संयोजक उपेन्द्र खड्काको सभापतित्वमा भएको समापन कार्यक्रममा कोषाध्यक्ष नृपबहादुर कडायतले आयव्यय प्रस्तुत गर्नुभएको थियो ।
उत्सव सञ्चालन गर्न ३ लाख ८० हजार ६ सय ३७ रुपैया संकलन भएको थियो भने यो रकमबाट ६२ हजार बचत भएको कोषाध्यक्ष कडायतले जानकारी गराउनुभयो । उत्सवमा भएको सांस्कृतिक प्रतिस्प्रधामा प्रथम ,द्धितिय र तितृय हुने क्रमशः राष्ट्रिय मावि बेलुवा,जेसिज पव्लिक स्कुल र नोबेल स्कुलका बिद्यार्थीलाई पुरस्कार वितरण गरिएको थियो ।
कार्यक्रममा सांस्कृति संयोजक कपुर सिंह कडायतले कार्यक्रम बारे जानकारी गराउनुभएको थियो । उत्सव गर्नका लागि वडा नम्बर ६ को कार्यालयले ७० हजार रुपैया सहयोग गरेको थियो भने बिभिन्न संघ संस्था र व्यक्तिले नगद सहयोग गरेका थिए ।
समापन कार्यक्रममा स्वागत सल्लाहाकार संयोजक पहल बस्नेतले गर्नुभएको थियो भने सञ्चालन कुलराज खनाले गर्नुभएको थियो । २ गते थापना गरेको गणेशको मूर्ती मंगलबार नै कर्णाली नदीमा बिसर्जन गरिएको हो । बाजागाजा सहित स्थानीय गणेश मूर्ती बिसर्जन कार्यक्रममा सहभागि थिए । १० बर्षपछि नारायणपुरमा यस पटक गणेश उत्सव भएको स्थानीयको भनाई छ ।
उत्सवमा भजन कृतन देखि बिभिन्न कार्यक्रम भएका थिए भने दैनिक पूजापाठ भएको थियो । उत्सव अवधिभर योग कार्यक्रम भएको थियो । उत्सवमा पण्डित नारायण तिमिलसेनाले प्रबचन दिनु भएको थियो ।
यता टीकापुरमा भएको गणेस महोत्सव १२ गते समापन हुने भएको छ ।