गल्ती ढाकछोप मै नेताहरु

सम्पादकीय
नेपालका नेताहरुले आफ्नो कमजोर प्रस्तुतिलाई ढाकछोप गर्न मै व्यस्त छन् । दिनभरी उनीहरुको काम आफ्नो गल्ती ढाकछोप गर्नु मात्र हुन्छ । देशको आर्थिक अवस्था खस्कदो छ भने द्वन्द्व बढ्दै गएको छ । समाज द्वन्दमा फस्दै गएको छ । आपसमा अबिश्वास बढ्दै गएको छ । जनताले राहत पाउने आधार तयार छैन । देशको आर्थिक प्रगती र जनताको जीवन शैलीका बारेमा नेताहरुलाई चिन्ता छैन । देश अराजकता तर्फ गइरहेको छ तर नेताहरु प्रतिगमन शव्दलाई प्रयोग गरेर आफ्नो बचाउमा उत्रेका छन् । प्रतिगमनका नाममा राजालाई धारे हात लगाउने र आफ्नो गल्ती ढाकछोप गर्ने प्रयास भइरहेको छ । नेताहरुकै कारण आज गणतन्त्र असफल हुने अवस्थामा पुगेको छ तर गणतन्त्र असफल को खास कारण भन्नुको साटो प्रतिगमन को खतरा देखाउन थालिएको छ । सधैै अधिकारका कुरा गरेर नथाक्ने दलका नेताहरु सत्तामा गएपछि लुट्नमा व्यस्त भएको जनताले बुझेका छन् । जनताको यो बुझाईले आम निरासा छाएको छ । नेपालले राजनीतिक दलमा देखिएका अराजकता र मनपरीका बारेमा बोल्नुको साटो राजालाई दोष देखाएर क्रान्तिकारी बन्ने प्रयास गरेको देख्दा नेताहरु सुध्रिने अवस्थामा छैनन् भनेर बुझ्न सकिन्छ । केवल आफ्नो सत्ता स्वार्थमा लिप्त नेताहरु जनतालाई त्रास देखाएर आफु बलियो भइरहने वातावरण बनाउनेमा लागेका छन् । पटक पटक अवसर पाएका छन् तर देश र जनताका लागि भन्दा आफ्नालाई पोस्ने काम मात्र गरेका छन् । २०४६ को परिवर्तन पछि नेताहरुले धेरै काम गर्न सक्ने भएपनि आपसमा लडेर समय खेर फालेका छन् । नेताहरु आपसमा नमल्निे अनी अहिले मिलेका छन् तर मिलिजुली खानमा व्यस्त छन् । हरेक राजनीतिक दलमा भ्रष्टहरु हाबी भएका      छन् । भ्रष्ट र माफियाको चंगुलमा पार्टीका शिर्ष नेताहरु फसेका छन् । नेताहरु सुबिधा भोगी भएका छन् । सत्ताका लोभीहरुलाई जनताले तह लगाउनै पर्छ । आम जनताले आउँदो निर्बाचनमा सत्तामा लिप्त नेताहरुलाई तह लगाउन जरुरी छ । नेताहरुलाई समयमै सचेत गराउन पनि भ्रष्टहरुलाई आउँदो मंसिर ४ गते हुने प्रदेश र संघको निर्बाचनमा हटाउन जरुरी छ ।