गाईको आवास र आहाराका लागि महायज्ञ,महायज्ञ तयारीबारे पत्रकार सम्मेलन

टीकापुर, १३ मङ्सिर/ गौशाला को स्तरोत्रतिका लागि आयोजना हुने महायज्ञबारे पत्रकार सम्मेलन गरी जानकारी दिइएको छ । सामुदायिक पशु चौपाया व्यवस्थापन तथा प्रवर्दन समितिले टीकापुरमा यही मङ्सिर १६ देखि २३ गतेसम्म महायज्ञ सञ्चालन का लागि तयारी तिब्र पारेको पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।
टीकापुर २ सितापुरस्थित जनजागृती माध्यमिक विद्यालय नजिक महायज्ञ आयोजना हुने भएको हो । ‘टीकापुर गौशाला ज्ञान–तथा धार्मिक महोत्सव मूल समारोह समिति’का संयोजक द्धारिकाप्रसाद जोशीले यतिखेर महायज्ञ सञ्चालनका लागि कलश बिक्री गर्न रसिद काट्ने काम भइरहेको जानकारी दिनुभयो । ‘‘अहिलेसम्म करिव सात सय कलश बिक्रीका लागि रसिद काटेका छौँ, कलश बिक्री बाट उठेको रकमले महायज्ञ सञ्चालन खर्च जोहो गर्ने उद्देश्य छ ।

महायज्ञमा करिव चार लाख खर्च हुने अनुमान छ’’, जोशीले भन्नुभयो, ‘‘स्थानीयले दुना टपरी लगाउने, बास काट्ने, बोक्ने र घेरबार गर्ने काम, ससफाइ, यज्ञस्थल बनाउने लगायतका कार्यमा स्थानीय जुटेका छन् । ’’
महायज्ञमा स्थानीय क्लवका युवाले स्वयमसेवकका रुपमा खट्नेछन् । महायज्ञमा टेण्ट निशुल्क, कलाकार निशुल्क सहयोग गर्नेछन् । साउण्ट सिस्टम न्यूनतम शुल्क र अन्य प्रविधि निशुल्क सहयोगबाट सञ्चालन हुने बताइएको       छ ।
महायज्ञ आयोजक समितिका सदस्य एकराज पण्डितले चिसो बढेपछि गाईबस्तुलाई गोठ अभाव भएकाले गाईबस्तुलाई आवास र आहाराका लागि महायज्ञको तयारी भएको बताउनुभयो । ‘‘एक वड एक गोठ बनाउने उद्देश्य सहित छलफलमा छौँ, वडा नं। ४ ले सय गाई अट्ने गोठ महायज्ञ अघि नै बनाइदिने भएको छ’’, पण्डितले भन्नुभयो, ‘‘अन्य वडाले पनि गोठ निर्माणमा आवश्यक सबै सहयोग गर्नेमा सकारात्मक छन् ।’’
महायज्ञबाट भएको आम्दानी बाट टीकापुरस्थित गौशालालाई व्यवस्थित गरिने आयोजकले जनाएको छ । महायज्ञमा अन्तराष्टिूय भागवत भूषण वाचन शिरोमणि आचार्य नारायण शरण प्रमुख वाचक रहने जनाइएको छ । महायज्ञमा एकहजार एक सय रुपैयामा एउटा कलश पाइने व्यवस्था गरिएको छ । यसैगरी जोडी कलश र पञ्च कलशको पनि व्यवस्था गरिएको छ ।
महायज्ञमा तुला दान, अन्न दान, पितृ दान,ब्राह्मण भोजन, प्रसाद वितरण, आरती सेवा, विशेष पूजा, ब्रतवन्ध र ग्रह पूजाको व्यवस्था गरिएको छ ।
युवाहरुले गाई संरक्षणका लागि महायज्ञ गर्न थालेपछि यो अभियानमा स्थानीय स्वस्फूर्त रुपमा जोडिन थालेका छन् । स्थानीय राजकुमारी सिंह गाईको संरक्षण गर्नलाई व्यबस्थित वासको योजना बनाएर युवाहरु अघि बढेको
देखेर आफू पनि महायज्ञ सफल पार्न अभियानमा जोडिएको बताउनुहुन्छ । ‘‘छाडा पशुले महिलालाई धेरै पीडा थियो, थोरै बारी पनि गाईगोरुले नोक्सान गरिदिने समस्या थियो’’, उहाँ भन्नुहुन्छ, ‘‘किसानको बाली पनि जोगिने, गाईबस्तुको पनि उचित संरक्षण हुने काम राम्रो छ । सबैले सकेको सहयोग गर्ने हो ।’’
सामाजिक सेवा उमेर ढल्केकाहरु लाग्ने गरेको देख्नुभए का स्थानीय मकरबहादुर केसी युवाहरु गाई संरक्षणमा जुटेको देख्दा किसानलाई बढी राहत भएकाले संरक्षण अभियानमा सबै सहयोगी बन्नुपर्ने बताउनुहुन्छ । ‘‘कमाइ गर्ने उमेरका युवाहरु गाई संरक्षणमा लागेका छन्’’, केसी भन्नुहुन्छ, ‘‘समाजकै लागि सकारात्मक सन्देश हो । गाई संरक्षण सबैभन्दा पुण्यको काम हो ।’’
टीकापुरमा यसअघि पनि थुप्रै महायज्ञ आयोजना भएका छन् । यसपटक गौमाता संरक्षणका लागि महायज्ञ आयोजना भइरहेकाले महान कार्यमा सबैलाई सहभागी हुन स्थानीय उपेन्द्र खनालको आग्रह छ । ‘‘रातदिन ब्यक्तगत काम थाती राखेर सेवामा लागेका युवाहरुको अभियानमा स्थानीय सहभागी भइरहेका छन्’’, उहाँ भन्नुहुन्छ, ‘‘नागरिकको सानो सानो सहयोगले गाई संरक्षणमा ठूलो सहयोग  पुग्छ ।’’
२०८० साल जेठ १४ गते संस्थामार्फत् टीकापुरका केही युवाहरुले वडा नम्बर २ मा पालिएका छाडा चौपायालाई संरक्षण गरेर आयआर्जनको योजना बनाएका छन् ।
गौशालाभित्र १५ कठ्ठा जग्गामा घाँस खेती गरिएको छ । त्यहाँ निर्माण गोवरग्यास प्लान्टबाट बिहान बेलुका २÷२ घण्टा ५५ घरधुरीलाई खाना पकाउन वायो ग्यास वितरण गरिएको छ । गौशाला संरक्षण गरिरहेका युवा गाई संरक्षणका लागि दीर्घकालिन आम्दानीका स्रोत चाहिन्छ भन्दै आम्दानीका माध्यम बनाउने प्रयासमा लागेका छन् ।