गाली गर्ने बहिस्कार नगर्ने

सम्पादकीय
हाम्रो समाजमा नेताहरुलाई गाली गर्ने प्रचलन बढ्दै गएको छ । देशको यो अवस्था पुग्नुमा नेताहरुको दोष छ भनेर सबैले भन्ने गरेकाछन् । गल तगर्नेहरुलाई स्थान दिनहुँदैन भनेर आवाज पनि उठ्ने गरेको छ । आवाज उठाउनेहरुले पनि समय आएकाबेला गलत मान्छेलाई बहिस्कार गरौं भन्ने गर्दैनन् । गलत मान्छेलाई बहिस्कार नगर्ने हो भने गलत मान्छेको मनोबल बढ्नु स्वभाविकै हो । काठमाण्डौमा मेयर बालेन शाहले राम्रो काम गरेको भन्दै सबैले प्रशंसा गरिरहेका छन् । उनका हरेक कामले चर्चा पाएका छन् । नेपाली समाज अरुको प्रशंसा पचाउन नसक्ने अवस्थामा छन्। आफु पनि राम्रो काम नगर्ने भएपछि राम्रो काम गर्नेलाई समस्यामा पार्न थालेका छन् । गणतन्त्र यति बद्नाम हुनुको एउटै कारण हो चरम वेथिती र भ्रष्टाचार । वेथितीले गर्दा समाजमा अराकजता बढ्दै गएको    पाइन्छ । अराजक हुनुको कारण आक्रोस र निरासाले हो । केन्द्र देखि नै भ्रष्टाचार मौलाएको छ भने सामाजमा भ्रष्टहरुको बोलवाला बढ्न थालेको छ । हरेक पार्टीमा भ्रष्टहरु हावी भएका छन् । नेतृत्वले भ्रष्टहरुलाई पाखा लगाउनुको साटो अघि लगाउने गरेको छ । भ्रष्टहरुलाई स्थान नदिने हो भने समाजमा पनि त्यहि खालको सन्देश जाने थियो । गणतन्त्रमा नागरिकको कुरा हुनुपर्नेमा नेताहरुका कुरा मात्र हुने गरेका छन् । तसर्थ गलत मान्छेलाई सामाजिक अगुवा बनाउँदै जाने हो भने त्यसको सजाय त्यही समाजले भोग्नु पर्छ । भ्रष्टहरु कुनै पार्टीमा पनि इमान्दार  छैनन् । केवल स्वार्थका लागि लागेकाहरुको एउटै सोच हुन्छ त्यो हो सामाजिक अगुवाको खोल ओढ्ने अनी आफ्नो स्वार्थ पुरा गर्नु । गाली गर्नु भन्दा गलत मान्छेलाई समयमै बहिस्कार गर्ने संस्कार बसाल्न जरुरी छ ।