गुटका नाममा बद्नाम पात्रले अवसर पाउने

सम्पादकीय
नेपाली कांग्रेसमा मात्र होइन हरेक पार्टीमा स–साना गुट प्रष्ट देख्न पाइन्छ । कांग्रेसमा एउटा गुटबाट लाभ लियो अनी अर्काे गुटमा लाग्ने प्रचलन बढ्दै गएको छ । बिचारको दृष्टिकोणबाट गुटमा लाग्ने गरेको भए नेतामा सुधार आउने थियो । बद्नाम भएपछि एउटाले नपत्याए अर्काे नेताको गेटमा कुर्ने प्रचलन छ । यस्तो प्रचलनले पार्टीलाई कमजोर मात्र बनाएको छैन , जे गरेपनि हुन्छ भन्ने सन्देश गएको छ । यसरी देखिएको गुटमा बद्नाम पात्रलाई गुटकै नाममा अवसर दिदा पार्टी र आम नागरिकमा असन्तुष्टि बढ्दै गएको छ । स्थानीय स्तरमा जनताको मत लिनका लागि स्थानीय नेता जन्माउने हो । स्थानीय स्तरबाटै भोट आउने हो । त्यसका लागि पार्टीले नेता जन्माउने हो । यसरी नेता जन्माउदा पार्टी बलियो हुन्छ । पार्टी बलियो बनाउनेका नाममा पछिल्लो समय बद्नाम पात्रको बिश्वास गरेर लगानी गरेका इमान्दार नेता तथा कार्यकर्तालाई पन्छाउने गरिएको छ । यसरी लगानी गरेको र इमान्दार नेतालाई पन्छाउँदै जाँदा पार्टीमा समस्या आउन थालेको मात्र छैन , पार्टी सुक्दै गएको अवस्था छ । नेपाली कांग्रेसको मत घट्दै गएको छ । मत किन घट्यो भनेर समिक्षा हुँदैन बरु सबै भन्दा ठूलो पार्टी भनेर गर्ब गर्ने गरिएको छ । निर्मम तवरले समिक्षा गर्ने बिषयलाई हल्का रुपमा लिने गरिएको  छ । पार्टीमा चाकडी गर्ने , नातावाद र पैसावालाले अवसर पाउने वातावरण बनाइदैछ । नेतालाई पैसाले रिझाउने अनी पदमा गएपछि लुट्नेहरु नेपालको राजनीतिमा हाबी हुन थालेका छन् । गलत मान्छे हाबी भएपछि नागरिकले सुख पाउने कुरै भएन । केन्द्रिय नेतृत्वले पनि स्थानीय स्तरमा खटेर काम गर्ने नेता कार्यकर्ताको भन्दा चाकडी गर्दै कुरा काट्नेहरुको कुरा सुनेर निर्णय गर्ने गरेका         छन् । भ्रष्ट हाबी हुँदे छन् पार्टीमा । युवाहरु पनि व्यबसायका नाममा काम चोरेर रकम कमाउन उद्यत छन् यस्ता युवाहरुले देश र जनताको पक्षमा सोच्ने कुरै      भएन । तसर्थ हरेक पार्टीका नेताहरु गम्भिर हुन जरुरी छ । नयाँ सोचबाट नजाने हो भने नामका पुराना मात्र हुनेछन् । पढेलेखेका युवाहरु अटाउन नसक्ने पार्टी धेरै दिन टिक्ने कुरै छैन । भिडको बिश्वासमा परेर गलत मान्छे बोक्दा पार्टी समाप्त हुने हो । समयमै बिचार गर्न जरुरी छ ।