ग्लोबल ओरियन्सका टीकापुरस्थित आठजना प्रतिनिधि पक्राउ

टीकापुर, ७ चैत/आकर्षक तलव पाइने जागिरको लोभ देखाएर युवाहरु ठग्ने ग्लोबल ओरियन्स नेपालका टीकापुरस्थित प्रतिनिधिहरु पक्राउ परेका छन् ।
इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख, प्रहरी नायब उपरीक्षक उद्धवसिंह भाटका अनुसार चैत ५ गते आइतबार ग्लोबलका १२ जना प्रतिनिधि विरुद्ध जिल्ला अदालत कैलालीमा ठगी मुद्दा दर्ता भएको छ । जसमध्येका डेकेन्द्र विक लगायतका आठ जना पक्राउ परिसकेका छन् । पक्राउ पर्नेमा कैलालीको टीकापुर नगरपालिका वडा नम्बर ५ का लालबीर चौधरी, दैलेख चामुण्डा बिन्द्रासैनी नगरपालिका वडा नम्बर ४ का डेकेन्द्रबहादुर विक, वडानम्बर ८ का रविन्द्र बोहरा, भरेश शाही, आठबिस नगरपालिका वडा नम्बर १ का जितेन्द्र विक, दुर्गा विक, वडा नम्बर ३ का वर्षा बडुवाल र दुल्लु नगरपालिकाका वडा नम्बर ९ का खगेन्द्र जैसी रहेका छन् ।
ठगीको रहस्य सार्वजनिक भएपछि एक महिनाको लागि विदा भयो भन्दै यहाँको कार्यालय आइतबारदेखि नै बन्द गरिएका छन् तर बाहिरबाट ल्याएर होस्टेल मा राखिएकाहरु भने अब पैसा पाइन्छ कि भनेर आफू ठगिएको बताउन थालेका छन् । अछाम ढकारीका चिरञ्जीवी बुढाका अनुसार नौ वटा जति होस्टेल रहेकोमा धेरैजसोलाई भगाइसके को र केही मात्रै होस्टेलमा रहेका छन् ।
समाचार प्रकाशनमा आएपछि प्रहरीले सक्रियताले पीडितहरु पनि खुल्न थालेका छन् । ‘आफ्नै मामाले दुई जना कर्मचारी चाहिएको र मासिक अठार हजार तलव पाइन्छ नौ महिना मा बाइक चढने लोभ देखायो, यहाँ आएर दुई दिनको तालिम पाएपछि एक लाख बीस हजार तिरे तीन महिनामा चौथो श्रेणीमा पुगे ४५ हजार पाइन्छ भनेपछि सहकारीबाट एकलाख बीस हजार ऋण लिएर बुझाए,’ सुर्खेतकी एक युवा भन्नुहुन्छ, ‘चार महिना पुगे पछि दुईचार जना अरु ल्याएपछि मात्रै हुन्छ भनेपछि रोइरोइ बसेकी छु सधैं काम भएन भनेर यातना दिने गरेको छ पढाइ पनि बिग्री सक्यो घर जाने माहोलै छैन मलाई मृत्यूको बाटोतिर डो¥याउदै छ ।’
दैलेख भगवतीकी पुष्पा भण्डारी ले आफ्नै साथीले तलव पाइन्छ भन्दै बोलाएको र टीकापुर पुगेपछि ४० हजार फसेको र तलब माग्दा आफ्नो एसइइको मार्कसिट कब्जा गरिदिएको गुनासो गर्नु भयो । राजापुरकी रेजिना चौलागाईले घरमा बसेका बेला मासिक १८ हजार माथि तलव पाइने भनेपछि बुझ्न भनेर आउँदा फसेको र कमाइ राम्रो हुने भनेपछि मासिक पाँच प्रतिशत ब्याजमा एक लाख बीस हजार बुझाएको चार महिनापछि चार हजार रुपियाँ मात्रै पाएको बताउनुहुन्छ ।
ग्लोबलले ठगीरहेको सार्वजनिक भएपछि जागिरका लागि बोलाइएका व्यक्तिहरु फर्किन थालेका छन् । स्वामीकार्तिक बाजुराका पवन विक बेलाबेला अफर गरेर पैसा कमाए त भैगो किन पढनु प¥यो भनेर केटीहरुले पटकपटक फोन गर्ने गरेकाले बुझ्न आएको तर फसाउने रहेछन भनेर थाहा पाएर फर्केको बताउनुहुन्छ । कैलालीका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेल टीकापुरमा उजुरी परेकाले पक्राउ र मुद्दा चलिरहेको र अन्य ठाउँका हकमा बुझेर बन्द गर्न निर्देशन दिइसकेको बताउनुभयो ।
के हो ग्लोबल ओरियन्स नेपाल ?
केही वर्ष अघि ओरियन्स बहुराष्ट्रिय कम्पनी भन्दै भारत बाट नेपालमा नेटवर्किङ व्यवसाय गरिरहेको थियो । यसैबेला भारतबाट नेपाल पसेको थियो । यस्तो् व्यवसाय गरिरहेका बर्दियाका चार जना २०७६ कात्तिक मै बर्दियामा पक्राउ परेका थिए । बर्दियामा काम गर्ने चार जना पक्राउ परेपनि कैलालीमा भने टीकापुर साजन चौधरीले आफूमूनि हाँगा बनाएर दुई जना सन्तोष चौधरी र मनोज चौधरीलाई ल्याएपछि निरन्तर दिएको बर्दियाका पत्रकार निर्मल घिमिरे बताउनुहुन्छ ।
वि।सं। २०७७ असारमा काठमाडौं महानगरपालिका वडा नम्बर १६ मा कार्यालय रहने गरी नुवाकोट का बसन्त पण्डितका नाममा ग्लोबल ओरियन्स नेपाल दर्ता भएपछि नेपाली युवाहरुलाई नेपालमै फसाउन सजिलो भएको छ ।
पहिले भारत र पछि टीकापुरलाई कार्यक्षेत्र बनाएका साजन चौधरी अहिले ग्लोबल ओरियन्स नेपालका नाममा नेटवर्क चलाइ रहेका छन् । साजन चौधरीका अनुसार टीकापुरमा ८०० देखि एक हजार युवाहरु यसमा संलग्न छन् । ग्लोबलका पाचौ श्रेणीका विक्रेता बताउने जितेन्द्र विक साजन चौधरी यहाँको प्रमुख र नवौ तहको डायमण्ड लिडर भएको बताउनुहुन्छ । बेरोजगार र सोझा युवाहरु लाई आकर्षक तलब र बोनस पाइने प्रलोभन देखाएर फसाउने र फसेका युवालाई नयाँ मानिस बनाए बोनस बढने प्रलोभनमा फसाउने सिलसिला बढ्दैछ ।
‘नेपालमा पढेर केही हुन्न व्यवसाय मा लागे सम्पन्न भइन्छ’ भन्दै बेरोजगार युवाहरुलाई फसाउने र अरुलाई थप्दै जानुपर्ने ४० हजार तिरेर केही नपाएकी गीता मल्लको भनाई छ । ग्लोबलले दुई दिनको तालिम दिएपछि १५ हजार, ४० हजार र १ लाख २० हजारको श्रेणी बताउने र माथिल्लो श्रेणीको पैसा तिरे छिटै प्रगति हुने लोभ दखाउने गरेको पीडितहरु बताउछन् ।
टीकापुर भेटिएका अधिंकाश युवाहरु ले भने ४० हजारबाट शुरु गर्ने गरेका छन् भने सक्नेले तेस्रो श्रेणीको एक लाख २० हजार नसक्नेले १५ हजारको पहिलो श्रेणीको रकम बुझाउने गरेका छन् । सञ्चालक साजन चौधरलिे भने झैं एक हजार जनाले दोस्रो श्रेणीको ४० हजार मात्रै तिरेका भएपनि यो रकम चार करोड हुन आउछ । यहाँ सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका विभिन्न जिल्लाबाट युवाहरु आएको देखिन्छ । ग्लोबलले कैलालकिा भजनी, लम्की, धनगढी लगायतका ठाउँमा पनि शाखा बिस्तार गरी यही शैलीको ब्यापार गरिरहेको छ ।