ग्लोबल ओरियन्सले टीकापुरबाट करोडौ रुपैयां उठायो प्रशासनले पत्तै पाएन

टीकापुर, ५ चैत/वि.सं २०७७ असारमा काठमाडौं महानगरपालिका वडा नम्बर १६ मा कार्यालय रहने गरी बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा बस्तुको प्रत्येक्ष बिक्री गर्ने उद्देश्य राखी खुलेकोे ग्लोबल ओरियन्स नेपाल प्रालि नामको कम्पनीले टीकापुरमा सम्पर्क कार्यालय खोली करोडौ रुपियाँ उठाएकोे छ ।
इजाजतमा बस्तुको प्रत्येक्ष बिक्री गर्ने भनिए पनि व्यवहारमा भने नेटवर्किङ शैलीमा एक व्यक्तिले अरु धेरै व्यक्तिलाई त्यसमा जोडेर पैसा कमाइ रहेको छ ।
प्रालिले पहिलो श्रेणीका व्यक्तिबाट १५ हजार, दोस्रो श्रेणीका व्यक्तिबाट ४० हजार र तेस्रो श्रेणीका व्यक्तिबाट प्रतिव्यक्ति एक लाख बीस हजारका दरले पैसा उठाएको भेटिएको छ । ग्लोबल ओरियन्समा पैसा बुझाइसकेपछि फोन, फेसबुक बाट मानिस बोलाएर आफूले धेरै तलब पाएको भनिदिनु पर्ने र ग्लोबलसंग भेट गराई दिए वापत मासिक तलव पाइने लोभमा युवाहरु फसेका छन् ।


अछाम ढकारीका चिरञ्जीवी बुढा अपरिचति महिलाले फेसबुकमा जोडिएर टीकापुरमा जागिर छ भनेपछि आफू चिसापानी बाट टीकापुर आएर दुई दिनको तालिम लिई मासिक १८ हजारका दरले तलव पाइने आशमा जग्गा बेचेर एक लाख बीस हजार तिरेको बताउनु हुन्छ । बुढाले ५० हजार नगद भरत शाहीलाई र डेकेन्द्र वि.क.लाई ७१ हजार इसेवाबाट दिएको तीन महिनापछि चार हजार दुई सय ८४ रुपियाँ मिलेपछि म ठगिएको थाह पाएको बताउनु भयो ।
गाउँमै आर्थिक अभाब झेलेका दैलेखका एक युवा पनि मासिक चार हजार पाँच सय रुपियाँ पाउने लोभमा ४० हजार रुीपयाँ फसाएर बसेका छन् । ग्लोबलले टीकापुरमा सम्पर्क कार्यालय र ठाउँठाउँमा होस्टेल राखेको छ । आजकाल विभिन्न ठाउँमा गरी तीनसय जति युवाहरु दुई दिने कक्षा लिएर पैसा जम्मा गर्दै अरु साथीहरुलाई बोलाउन लागिरहेका छन् । ग्लोबल ले पैसा वापत कसैलाई सौन्दर्यका सामानहरु दिने गरेको छ । पहिलो श्रेणीका १५ हजार तिर्नेले सामान लिएका पनि छन् तर ठूलो रकम तिर्नेले लिएका छैनन् । सामान लैजाँदा बील पनि नपाइने भएकाले लिनुको अर्थ भएको युवाहरु बताउछन् । ग्लोबलको कार्यालय संगै घर भएका धिरेन्द्र शाहीले विभिन्न जिल्लाका युवाहरु आएर यहाँ हल्ला गर्ने, झगडा गर्ने गरेकाले दिक्क लागिसकेको बताउनु भयो ।
इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख, प्रहरी नायव उपरीक्षक उद्धवसिंह भाट एक जनाले इसेवाबाट ७१ हजार रुपियाँ पठाएको देखिएकाले ग्लोबल ओरियन्सका एकजना कर्मचारी लाई पक्राउ गरिएको र अरुले पनि पैसा लिएको भनिरहेका तर पैसा बुझाएको प्रमाण नभेटिएको बताउनुहुन्छ । ग्लोबलले चलाकी पूर्ण रुपमा बील, कागज, बैंकको प्रयोग नगरेको देखिएको छ ।
यहाँ दैलेख, सुर्खेत, अछाम, जुम्ला, डडेलधुरा, दाङका युवाहरु जागिर पाउने लोभमा पैसा फसेको छ । ग्लोबलका सिनियर डिष्ट्रिब्यूटर साजन चौधरीले चित्त नबुझेका एकदुई जनाले गुनासो गरे पनि टीकापुर शाखासंग जोडिएर आठ सयदेखि एक हजार जनाले काम गरिरहेको बताउनुहुन्छ ।
उपभोक्ता हित संरक्षण मञ्च नेपालका महासचिव अधिवक्ता विष्णुप्रसाद तिमिल्सिना प्रत्येक्ष बिक्री गरेको भए व्यक्तिका नाममा बीलबिजक जारी गर्नुपर्ने र एउटै व्यक्तिलाई धेरै सामान दिनेगरी प्रभावमा पारेको भए प्रहरीलाई गुहार्नुपर्ने र उनीहरुको बयानका आधारमा ठगी गरेको प्रमाणित भए कारवाही चलाउनुपर्ने बताउनु हुन्छ ।