टीकापुर, ८ चैत/प्रहरीको सक्रीयता पछि टीकापुर क्षेत्रका ग्लोवल ओरियन्स प्रालिका कार्यालय र होस्टेलहरु बन्द भएका छन् ।
जागिरको प्रलोभन देखाइ सोझा साझा युवाहरुको पैसा असुलिरहेको ग्लोवलको धन्दा बारे उजुरी परेपछि कार्यालय र होस्टेल बन्द गरी केही भागेका छन् भने आठ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
टीकापुर स्थित त्यसको कार्यालय र टीकापुरका विभिन्न स्थानमा सञ्चालित ५÷७ ओटा सबै होस्टेलहरु पनि बन्द भएर सुनसान भएका छन् । केहिदिन अघिसम्म टीकापुर बजारमा सुटवुटसहित देखिने यूवाहरुको हुल अहिले हराएको छ । उनीहरु बस्ने भनिएका ५÷७ ओटा होस्टेलहरुमा छापा मार्दा त्यहाँ पनि कोही भेट्टिने छोडेका इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख उद्धवसिंह भाटले जानकारी दिनुभयो । ठगिएका केही युवाहरु प्रहरीलाई गुहार मागिरहेका छन भने धेरैजसो युवाहरुलाई एक महिना कार्यालय बन्द भन्दै घर भगाएका छन् ।
नभएर ग्लोवल ओरियन्सको सम्पर्क कार्यालयको रुपमा रहेका भजनी र लम्की स्थित कार्यालयहरु पनि अहिले केहि दिनदेखि बन्द रहेका त्यहाँ स्थित प्रहरी कार्यालयहरुले जानकारी दिएका छन् । टीकापुरमा ग्लोवल ओरियन्स कम्पनीका नाममा ठगिको मुद्धा परेपछि अहिले ईलाका प्रहरी कार्यालय टीकापुरको समन्वयमा उनीहरुको खोजतलासदेखि पक्राउ गर्ने काम भइरहेको ईलाका प्रहरी कार्यालय लम्कीले जानकारी दिएको छ ।
बेरोजगार र सोझा युवाहरु लाई आकर्षक तलब र बोनस पाइने प्रलोभन देखाएर फसाउने र फसेका युवालाई नयाँ मानिस बनाए बोनस बढने प्रलोभनमा फेरी अरुलाई फसाउने सिलसिला बढ्दै गएको देखिएको छ । यसले गर्दा यसमा एकपछि अर्को गर्दै सयौं यूवाहरु फसेका छन् ।
ग्लोवल ओरियन्स कम्पनीमा जोडिए वाफत प्रवेश शुल्क र आवास खर्च ३ हजार, दुई दिनको तालिम दिएपछि १५ हजार, ४० हजार र १ लाख २० हजारको श्रेणी बनाई पैसा असूल्ने गरेको पिडितहरुको भनाई छ ।
प्रहरीको सक्रियतामा केहि व्यक्तिहरु पक्राउ परेपछि खुल्न थालेका पिडितहरु अहिले आफ्नो पैसा फिर्ता गराइदिन प्रहरीलाई गुहारी रहेका छन् । ४० जना जतिले यस्ता ठाडो निवेदन दिएको प्रहरीको भनाई छ ।
हर्वो लगाएतका नेटवर्किङ व्यसायले पहिले पनि यो क्षेत्रबाट करोडौं रुपैया असुल गरी फरार भएका थिए । अहिले ग्लोवल ओरियन्स प्रालीले पनि मानिसहरुलाई ठगी गरिरहेकोले यस विषयमा आफै यूवाहरु र प्रहरी प्रशासनले सक्रियता देखाई यस्तो कामलाई रोक्नुपर्ने विद्यार्थी नेता भक्तराज देवकोटा बताउनु हुन्छ ।