टीकापुर, १६ पुस/जनकल्याण बचत तथा ऋण सहकारी संस्था टीकापुरले सुदूरपश्चिमबाट उत्कृष्ट पुरस्कार पाउन सफल सहकारीका व्यवस्थापक छविलाल जैसीलाई सम्मान गरेको छ । सहकारीले शुक्रबार एक कार्यक्रम गरी सहकारीका व्यवस्थापक जैसीलाई सम्मान गर्नुका साथै विभिन्न समिति, उपसमितिलाई जिम्मेवारी हस्तान्तरण गरेको हो ।
सहकारीका व्यवस्थापक छविलाल जैसी नेफ्स्कुनबाट उत्कृष्ट व्यवस्थापक सम्मान तथा पुरस्कारले सम्मानित हुनुभएको अवसरमा आयोजित कार्यक्रममा बोल्दै सहकारीका निवर्तमान अध्यक्ष बद्रीप्रसाद भट्टराईले सहकारी विकासका लागि विभिन्न समितिको अहम जिम्मेवारी निर्वाह आवश्यक रहेको बताउनु भयो ।
उहाँले जनकल्याण सहकारीमा राजनीतिक गन्ध नभएकाले यो सहकारी सफलताको बाटोमा अघि बढेको बताउनुभयो । सहकारीलाई बलियो बनाउँने सवालमा सेयर सदस्यहरु गम्भिर हुन जरुरी छ भन्नुभयो । कार्यक्रममा समाजसेवी भुवनेश्वर अधिकारीले जनकल्याणमा प्रतिस्पर्धा नभएकाले सफल भएको बताउँदै सहकारीले तोड्ने नभइ जोड्ने र एकताबद्ध बनाउने काम गर्नुपर्ने बताउनुभयो ।
टीकापुरका अधिकांस संस्थामा पारदर्शीता नहुँदा संस्था धरासायी हुँदै गएको अधिकारीले बताउँनु भयो । ‘साहारा सहकारी लगायत अन्य सहकारी डुबे तर संस्थामा बसेका पदाधिकारीले केही गरेनन्,’’अधिकारीले भन्नुभयो, ‘‘ नेताहरुले अगुवाई गरेको संस्था डुबेपछि यहाँको नेतृत्वको अवस्था कस्तो छ भनेर प्रष्ट हुन्छ ।’’
सहकारीका अध्यक्ष नृपराज भण्डारीले जनकल्याण सहकारी जिवन्त रहने खालको व्यवस्थापन गरेको बताउनुभयो । उहाँले सहकारीका सञ्चालकले ऋण लिने नगरेको बताउँदै सहकारी लाई सुशासन र पारदर्शी बनाउन ऋण प्रयोग नगरेका बताउनुभयो ।
कार्यक्रममा सहकारीका व्यवस्थापक छविलाल जैसीले सहकारीमा रहेका बचतका प्रकार र ब्याजदरबारे जानकारी दिनुभयो ।
अध्यक्ष भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा पत्रकार महासंघ कैलालीका उपाध्यक्ष दुर्गा देवकोटा, उपाध्यक्ष मनोज साउँद लगायत ले बोल्नुभएको थियो । कार्यक्रम कोषाध्यक्ष धनञ्जय ढुंगानाले सञ्चालन गर्नुभएको थियो । २०७९ पौष १५ सम्ममा उक्त सहकारीको चुक्ता सेयर पूँजी एक करोड २५ लाख ५४ हजार ९ सय रुपैयाँ रहेको छ । बचत जमा ४ करोड ७ लाख ७३ हजार ५ सय १६ रुपैया रहेको छ । ऋण लगानी ५ करोड ५० लाख ६३ हजार ३ सय ७ रुपैया रहेको छ ।
संस्थाको मुनुवा रोडमा दुई तले पक्की भवन छ त्यसैमा सहकारीले आफ्नो कारोबार गर्दै आएको छ ।