सम्पादकीय
नेपालको राजनीति देश र जनताका लागि भन्दा नितान्त सत्ता स्वार्थमा केन्द्रीत हुँदा यतिखेर नेताहरु संकटमा परेका छन् । जनताको जीवन शैली कठिन अवस्थामा पुगेको छ तर नेताहरुको मति सुध्रने देखिदैन । मंसिर ४ गते भएको निर्बाचनमा नागरिकले ठूला दल प्रति देखाएको आक्रोसलाई बिर्सिसके । भोट माग्ने बेला तथानाम आश्वासन बाड्ने अनी ५ बर्ष मनपरी गर्ने संस्कारले जडा गाड्दै जाँदा मुलुकमा अबिश्वास बढ्न थालेको छ । नेताहरु गम्भिर छैनन् । को सत्ता पक्ष को प्रतिपक्ष भनेर छुट्याउन गाहे छ । १३८ सांसद चाहिनेमा ३२ सांसद भएको पार्टीले सरकारको नेतृत्व गरेको छ । यस्तो बिकृतिमा गणतन्त्रले नागरिकको मन जित्न सक्ने कुरै भएन । जनभावनाको कदर गर्नुको साटो जालझेलको कुरा बढी हुन थालेको छ । आर्थिक अराजकता यति बढेको छ कि भ्रष्टाचार भन्दा पनि लूटतन्त्रमा पुगेको छ । लूटतन्त्रमा करको दुरुपयोग हुन्छ भने देशको आर्थिक अवस्था सुधार हुने कुरै भएन । सुधारको शुरुवात कहाँबाट हुने हो भनेर नागरिक पर्खेर बसेका छन् तर सत्तामा बसेका राजनीतिक दलहरु सुधार भन्दा पनि लुट्नमै उद्यत छन् । वर्तमान सरकारमा राप्रपा र स्वतन्त्र पार्टीबाट केही सुधार हुन्छ कि भनेर जनताले आशा गरेका छन् । प्रजातन्त्रका लागि लडेका एमाले ,कांग्रेस र जनयुद्धका नाममा आन्दोलन गरेका माओवादीका नेताहरुबाट त जनताले यतिखेर आशा गर्न छाडेका छन् । यिनीहरुका कुरा पत्याउन समेत कम भएको छ । कांग्रेस , एमाले र माओवादीमा भएका युवाहरुले अवसर नपाउने अनी पुरानाको शैली पुरानै छ । अब केही फरक हुनुपर्छ भन्ने मान्यता बोकेर काम नगर्ने हो भने जनताले पत्याउने अवस्था छैन । रबी लामिछानेले थालेको शुरुवातलाई स्टन्ट त देख्छौ तर ठूला पार्टीका नेताहरुले त्यहि स्टन्ट किन देखाउन सकेनन् भन्ने हो । तसर्थ अब धेरै भयो , राम्रो कामको शुरुवात थाल्नुपर्छ । शुरुवात भएपछि क्रमशः हुन्छ । तसर्थ नागरिक स्तरबाट दबाब सृजना गर्न जरुरी छ ।