जनतामाझ जानुको विकल्प छैन प्रचण्डको

सम्पादकीय
नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले सत्ताका लागि दुई ठूला दललाई गुन लगाउने प्रयास गरे । त्यही भएर राष्ट्रपति छान्दा कांग्रेससंग सहकार्य गरे । सभामुख छान्दा एमालेसंग सहकार्य गरे । राष्ट्रियसभामा भाईलाई सभामुख बनाउन सफल भए । दुई ठूला दलको बीचमा खेल्दै आफ्ना स्वार्थ पूरा गर्न सफल भए होलान् तर नागरिकका हितमा केही काम भएन । अहिलेको कार्यकालमा प्रचण्ड करिब डेढ बर्ष प्रधानमन्त्री भए तर जनभावना अनुसार काम भएन । देश र जनताको हितमा काम गर्न नसक्ने अनी सत्ताका लागि तानाबुना बुनिरहँदा दुई ठूला दल एक भए । दुई ठूला दल एकभएपछि यतिखेर प्रचण्ड रन्थनिएका छन् । आफुलाई उथलपुथलमा माहिर मान्ने प्रचण्डले पाटीको साख खस्केको कुरा बुझेनन् । सत्ता नभए पार्टी साँगुरो हुन्छ भन्ने एकोहोरा बुझाईले माओवादी झन कमजोर भएको छ । सत्तामा गए जनताको पक्षमा काम गर्ने प्रतिपक्षमा भए सशक्त प्रतिपक्षको भूमिका निभाएको भए माओवादी कमजोर हुने थिएन । प्रचण्डको डेढ बर्षे कार्यकालको मुल्याकंन कमजोर देखिएको सबैले बुझेका छन् । लुट्ने काम मात्र भयो । एउटा घटना सेलाउछ अर्काे घटना बाहिर आउछ यसरी काण्डै काण्डले प्रचण्डको कार्यकाल बित्यो । एकातिर नागरिकले काम नलाग्ने सरकारका भनेर बुझेका छन् त्यही प्रचण्डले राम्रो काम भयो भन्दै भाषण गर्दै हिँडेका छन् । त्यति मात्र होइन रबिले झै फाइल खोलेपछि सरकार ढालियो भन्ने भ्रामक प्रचारमा लागे । शव्द चयनमा खेलेर नागरिकलाई झुक्याउने प्रयास गरेको पाइन्छ । पटक पटक क्रमभंगता कुरा गर्दै आएका प्रचण्डले नागरिकको जीवन स्तर कसरी बलियो हुन्छ भन्नु भन्दा लडाकुका खल्तीमा पैसा हालेर खुसी पार्ने योजनामा लागे । मुलुक समृद्ध भएपछि लडाकुका मात्र होइन परिवार र इष्टमित्रमा समेत पैसा पुग्छ । साच्चिकै माओवादीले आफुलाई बलियो बनाउने हो भने जनतामाझ जान जरुरी छ । बिगतमा गल्ती भयो अब सच्चिएर जान्छौ भन्नुको विकल्प छैन । भाषणले ठग्ने प्रयास गरे माओवादी आउँदो निर्बाचनमा समाप्त पनि हुन सक्छ ।