जनतालाई ठग्न मनपरी बोल्ने

सम्पादकीय
देश दिनप्रतिदिन संकटमा फस्दै छ । मुद्रा संचितिको अवस्था ठिक भएपनि अन्य अवस्था नाजुक छ । व्यापार व्यबसाय चौपट छ । उद्योगीहरु उत्पादनमुखी हुनुको साटो सत्तामा बसेका नेताहरुसंग मिलेर राज्य दोहनमा लागेका छन् । काम गरेर खानु भन्दा नेताहरुसंग मिलेर छिटो धन कमाउन सजिलो मानेकै कारण पछिल्लो समय उत्पादन क्षेत्र तहस नहस भएको छ । उत्पादनका सवालमा राज्य पनि गम्भिर भएन । आफुलाई आवश्यक पर्ने बस्तु उत्पादन गर्नुको साटो बिदेशबाट ल्याउन सहज मान्ने बानी बसेको छ । एकातिर मुलुक यस्तो अवस्थामा छ अर्काे तर्फ नेताहरु मनपरी बोल्दै जनता ठग्नमा व्यस्त छन् । प्रधानमन्त्री प्रचण्डले दश ठाउँमा दशवटा कुरा गर्ने गरेका छन् । राजदरबार हत्याकाण्ड छानविन गर्ने प्रचण्डले भनेका छन् भने एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्ब राजा ज्ञानेन्द्रलाई कुशको राजा भनेका छन् । पछिल्लो समय राजपरिवारप्रति नागरिकको मोह बढ्न थालेपछि नेताहरु जथाभावी बोल्न थालेका छन् । नेताहरुको आचरणका कारण नागरिकले राजपरिवार नै ठिक थिए भन्न थालेका छन् । देश लुट्नमा व्यस्त छन् नेताहरु । गणतन्त्रका कुरा भए तर नागरिकको बाच्ने अधिकारका बारेमा कुरा नभएपछि नागरिकले मुख मोड्नु स्वभाविकै हो । नागरिकले काम गरेर खाने वातावरण छैन । जहाँ हे¥यो भ्रष्टाचार मात्र । नागरिक उपचार नपाएर मर्नुपर्ने अवस्था छ यस्तो अवस्थामा नागरिक गणतन्त्र भनेर कतिञ्जेल चुप लाग्ने ? सत्तामा बसेका शिर्ष नेताहरु र तिनका आसेपासे देश लुट्नमा व्यस्त हुने अनी नागरिकले आफ्नो गास काटेर कर बुझाउनुपर्ने व्यबस्था कतिञ्जेल टिक्छ ? दरबार हत्याकाण्डको छानविन गर्छाै भनेर घुर्कि लगाउनुभन्दा छानविन गरे भइहाल्यो । दरबार हत्याकाण्ड छानविन गर्न नागरिकले हुन्न भने का छैनन् । नागरिकले दरबार हत्याकाण्ड बारे सत्यतथ्य आवस् भन्नेमा छन् । भ्रष्टाचारका ठूला ठूला काण्ड छानविन गर्न नसक्ने प्रचण्डले दरबार हत्याकाण्ड छानविन गर्छाै भनेर जनता ठग्नुको कुनै तुक छैन । जनतालाई ठगेर कतिञ्जेल शासन गर्ने हो ? नागरिक सचेत भइरहेका छन् । अव नेताका सबै कुरा पत्याउने अवस्था छैन ।