जनमतको अबमुल्यन

सम्पदकीय
नेपालको राजनीतिमा जनमतको कदर भन्दा पनि अबमुल्यन गर्ने प्रचलन बढ्दै गएको छ । जनताबाट भोट लिएर जाने तर जनताको काम भन्दा सत्ताको खेलमा लाग्ने क्रम बढ्दै गएको छ । नागरिकको जनजीवन कष्टकर हुने अनी नेताहरु सत्ताको मस्तीमा हुने भएपछि गणतन्त्रमा जनताले के आशा गर्ने ? जनभावनाको कदर गर्न आम नागरिकले दबाब सृजना गर्न नसक्दा नेताहरुमा अराजकता बढ्दै गएको हो । नेकपा माओवादीका अध्यक्ष प्रचण्ड अस्थिरताका प्रयावाची भएको भन्दै नागरिकले असन्तुष्ट प्रकट गर्दैछन् तर प्रचण्डले सुधार भन्दा अझ जनभावना विपरित काम गरिरहेका छन् । आफ्नो स्वार्थका लागि जे पनि गर्न तयार हुने भएपछि प्रचण्डसंग संगतगर्नेहरु सजग हुनुपर्छ भन्ने थालेका छन्। प्रचण्डका बिरुद्ध बोल्ने युवाहरुको मुख थुन्ने प्रहरीको नेतृत्व प्रचण्डले गरेका छन् । बोल्न त छुट दिनुपर्छ । अधिकारका कुरा धेरै गर्ने तर नागरिकले गलत र समस्याका बारेमा कुरा राख्दा मुख थन्ने र थुन्ने ? सत्ता गठजोडका लागि सधै छलछाममा व्यस्त प्रचण्ड मुलुक कसरी बलियो हुन्छ भन्ने बारेमा मौन बस्छन् तर आफ्नो शक्ति संचय गर्ने र शक्ति प्राप्तीका लागि जसलाई पनि धोका दिन सक्छन् भन्ने प्रमाण अहिलेको गठबन्धनबाट प्रष्ट छ । केवल सत्ताका लागि एक अर्कालाई छलछाम गर्ने प्रबृत्ति बढ्दै गएको छ । गणतन्त्र आएपछि मुलुकले के पायो भनेर नागरिकले प्रश्न गरिरहेका छन् तर नेताहरु गभिंर देखिदैनन् । तसर्थ नागरिक सचेत भएर नेताहरुलाई दबाब दिन एकजुट हुनुपर्छ ।