जवाफदेहिता नभएको ठाउंमा विकास हुंदैन

सम्पादकीय
जुन समाजमा जवाफदेहिता हुँदैन त्यो ठाउँमा विकासको कल्पना समेत गर्न सकिदैन । नागरिकले आफ्नो ठाउँको बारेमा चासो नराख्ने हो भने बाहिरबाट आएर कसैले विकास गरिदिंदैन । के राम्रो के नराम्रो भनेर नछुट्याउने समाजमा राम्रो काम गर्नेहरु ओझेलमा पर्ने निश्चित हो । राम्रो काम गर्नेहरु ओझेलमा परेपछि गलत व्यक्तिहरु हाबी हुनु स्वभाविकै हो । टीकापुरमा पनि त्यही भइरहेको छ । कुनै विकास निर्माण हुन थाल्यो भने मैले वा मेरो मान्छेले गरेको हो भनेर हल्ला पिट्न हतार हुन्छ । टीकापुर त्यसै पनि योजनाबद्ध निर्माण भएको शहर हो । प्रजातन्त्र आएपछि टीकापुरलाई राज्यले वास्ता गरेन र विकासका अवसरबाट बञ्चित गर्ने काम गरियो । स्थानीय जनप्रतिनीधि हुन् या संघिय सांसद हुन् टीकापुरमा बजेट ल्याउन सकेको पाइएन । जनप्रतिनीधि छान्दा पनि ध्यान नपु¥याउँदा विकास निर्माणमा ठगिनु परेको छ । योजनाबद्ध शहरमा सरकारले काम गरेको भए टीकापुर बस्नका लागि राम्रो शहर हुन्थ्यो । योजनाबद्ध शहर निर्माण गर्ने पञ्चायतको सपना प्रजातन्त्र आएपछि तुशारापात लागेको छ । राज्यले टीकापुरलाई ठगिरहयो तर टीकापुरबासी एक भएर राज्यलाई घचघच्याउनुको साटो स्वार्थमा लिप्त भए । संघ संस्थामा गएर आफ्नो स्वार्थ पुरा गर्नेहरु हाबी भएपछि टीकापुर दिनप्रतिदिन खस्कदो अवस्थामा पुगेको हो । संघ संस्था कव्जा गर्न र जनप्रतिनीधि हुन चलाखीपूर्ण व्यबहार भयो त्यही विकासका सवालमा चुक्दै गएको अवस्था हो । त्यसैले सिंगो टीकापुरबासी एक भएर टीकापुर क्षेत्रकै विकासमा लाग्न जरुरी छ । टीकापुर क्षेत्रको विकास भयो भने सबैको आर्थिक प्रगति हुन्छ । यसमा नागरिक जिम्मेवार हुन जरुरी छ । नागरिकले जवाफदेहितालाई बिर्सनु हुँदैन । जवाफदेहिता नहँुदा समस्या भएको मात्र होइन व्यक्ति अराजक भइरहेका छन् । यस बारेमा सबैले सोच्न जरुरी छ ।