जवाफदेहिता बिनाको राजनीति

सम्पादकीय
नेताहरुमा जवाफदेहीता नहुँदा जे बोलेपनि हुन्छ भन्ने मानसिकताको प्रष्ट झल्को संसदमा देख्न पाइन्छ । बजेट छलफलका क्रममा आइतवार नेपाली कांग्रेसका सांसद दिपक गिरीले बालेन शाहलाई धन्यवाद दिदै आफुहरु झोले भएको आक्रोस प्रकट गरे । विकासका सवालमा एकमत हुन नसक्ने सांसदहरु एक अर्कालाई कसरी खुइल्याउने भन्ने बारेमा ध्यान केन्द्रित गरेको पाइन्छ । नागरिकका समस्या ज्यू का त्यू छन् तर संसदको दृश्य हेर्दा नागरिकलाई सहज रुपमा ठग्न सकिन्छ भन्नेमा छन् । बजेट बलिया नेताहरुले लैजाने अनी कर सबैले तिर्नुपर्ने भएपछि जनतालाई गणतन्त्र किन चाहियो ? गणतन्त्रका नाममा नागरिक लुट्ने प्रबृत्तिका बिरुद्ध जनता पनि सचेत हुन जरुरी छ । जनताले प्रश्न गर्लान र जवाफ दिनुपर्छ भन्ने कुरालाई नेताहरुले गम्भिरताका साथ लिन जरुरी छ । ससदमा बोलेका कुरा एक एक गरी कसरी लागु गर्ने भन्ने कुनै योजना छैन तर प्रधानमन्त्री प्रचण्ड जवाफ दिदा सबै कुराको समस्या हल गर्छु भन्छन् । अहिलेसम्मको व्यबहार हेर्ने हो भने नेपालका नेताको बोलीमा बिश्वास गर्ने वातावरण छैन । गणतन्त्रमा चरम व्यतिथी जनताले बेहोर्नु परेको छ । मुलुक आर्थिक संकटमा छ तर नेताहरु आर्थिक संकट छैन भन्दै ठग्ने गरेका छन् । आज कानून हातमा लिएर नेताहरु शासन गरिरहेका छन् । नेताहरुको श्रीमती र छोरा छोरी मुलुक लुट्नमा व्यस्त छन् । शक्तीका आडमा मुलुकमा आतंक सृजना गर्ने काम भएको छ । व्यक्तिको साशनलाई महत्व दिएर काम गर्दा हरेक क्षेत्रमा अराजकता मच्चिएको छ । हरेक काण्ड बाहिर आउँछन् तर सामसुम हुने गरेका छन् । यसरी मनपरी शासन गर्दै आएका नेताहरुले जनतालाई सहजै ठग्न सकिन्छ भन्नेमा छन् । यसरी ठगिदा पनि प्रश्न नगर्ने जनताको कमजोरी हो । नागरिकले प्रश्न गर्ने र जवाफदेहीता बढाउन सकृयता देखाउन जरुरी छ । नागरिक चुप लाग्ने हो भने नेताहरुमा जवाफदेहीताको भावना जाग्दैन ।