जालझेलको राजनीति

सम्पादकीय
गणतन्त्र आएपछि केवल जालझेलको राजनीति हुने गरेको छ । सामानुपातिक निर्बाचन प्रर्णाली र त्यस अघि शान्ति कायम गर्नेका नाममा माओवादीबाट स्वघोषित सांसदले निर्माण गरेको संसदले नेपालको राजनीतिमा अराजकता निम्ताउदै गएको अहिले सबैले महशुस गर्न थालेका छन् । ठूला दलका शिर्ष तहका नेताहरुले अहिले आएर निर्बाचन प्रणाली बारे सोच्नुपर्ने भन्न थालेका छन् । सत्तामा बस्नका लागि जे पनि गर्न तयार हुने संस्कारले बिधि बिधान हैन नेतृत्वको बोली नै कानून हो भन्ने सन्देश दिने प्रयास भइरहेको छ । अर्काको पार्टी फोड्न केन्द्रिय समितिमा या सांसद संख्या मध्य एकमा २० प्रतिशत पु¥याए पार्टी अलग गर्न सकिने अध्यादेश ल्याए । यसरी अध्यादेश ल्याउदा एमाले फुट्यो । अहिले जसपा फुट्यो । अब यस्तै हो भने नागरिक उन्मुक्ति पनि फुट्छ । साना दल छिया छिया पार्ने गरी अध्यादेश ल्याउनु भनेको दिर्घकालिन सोच नहुनु हो । अरुको पार्टी फोडेर आफ्नो पक्षमा संख्या देखाउने खेलले आपसमा द्वन्द बढ्दै गएको छ । सत्ताका लागि संख्या आवश्यक पर्ने भएपछि राजनीतिक दलहरुले संख्याकै जोड घटाउमा छन् । देश र जनताका बारेमा केही वास्ता छैन । नागरिकको जीवन स्तर र उनीहरुको दिनचर्या कति कठिन छ भन्ने बारेमा राजनीतिक दलका नेताहरुले ध्यान दिएको पाइदैन । नागरिकले सरकारी निकायमा पाउने सेवा सहज छैन । हरेक संस्थामा भ्रष्टाचार छ । भ्रष्टाचार कम गर्ने बिषयमा पनि नेताहरु गम्भिर छैनन् । राज्य दोहनमा लागेका नेताहरु जनतामाझ मिठा कुरा गर्छन् । सत्तामा बसेका बेला आफ्नालाई पोस्ने योजना बनाउछन् सत्तामा भन्दा बाहिर भएपछि जनताको कुरा गर्छन् । तसर्थ जनता सचेत हुन जरुरी छ ।