टीकापुरमा एलइडी ब्लव बनाउने तालिम शुरु

टीकापुर, १६ जेठ/टीकापुरमा एलइडी ब्लव बनाउने तालिम शुरु भएको छ । एक हप्ते तालिममा वडा नं. १ का २० जना युवा युवती सहभागी  छन् ।
मानिसलाई सधैँ उज्यालो चाहिने भएकाले सधैँभरि खपत हुने एलइडी ब्लब बनाउन युवा युवतीलाई सिकाउन थालिएको हो । तालिम वडा नं। १ को आर्थिक सहयोगमा खप्तड तालिम तथा रोजगार मल्टी प्रपोज प्रालि अछामले आयोजना गरेको हो । तालिममा कच्चा पदार्थको प्रयोग गरी स्थानीय स्तरमै  कसरी ब्लब बनाउन सिकाइने भएको छ ।
एलइडी ब्लबको बजार समेत राम्रो रहेकाले तालिमका सहभागी लाई तालिमसँगै सामग्री समेत सहयोग गरिने जानकारी दिइएको छ । तालिमपछि व्यवसायी बनेकाहरुका उत्पादन बजारीकरण मा वडा कार्यालयले सहयोग गर्ने वडाध्यक्ष मोहन लुहार विकले जानकारी दिनुभयो ।
वडाध्यक्ष विकले सीपसँगै युवालाई व्यवसायिक बनाउन तालिमलाई सघाएको बताउनु भयो ।
उद्घाटन समारोहमा खप्तड तालिम तथा रोजगार मल्टी प्रपोज प्रालिका प्रवन्धक रेनुका रेग्मीले स्वदेशमै सीप सिकेर व्यवसायिक बन्न सघाउनका लागि तालिम उपयोगी हुने बताउँदै मन लगाएर सिक्न र व्यवसायमा जोडिन आग्रह गर्नुभयो ।
 कार्यक्रमका प्रशिक्षक टेकराज चौधरीले टीकापुरमा यही ब्लब उत्पादन गर्ने आफू लगायत २ जनामात्र रहेकाले यसको बजार प्रसस्त पाइने बताउनुभयो । उहाँले ब्लब बनाउन कच्चा पदार्थ ल्याएर यही बनाउन सकिने बताउनुभयो । टीकापुरका बजारमा रहेका पसलमा हाल काठमाण्डौ र दिल्लीबाट सामान आउने  गरेको बताउनुभयो ।
कार्यक्रमा वडा सदस्य गणेश घर्तीमगर, प्रेमकला चौधरी, पत्रकार दुर्गा देवकोटा लगायतले बोल्नुभएको थियो ।
कार्यक्रम वडा सचिव चक्र बहादुर रावलले सञ्चालन गर्नुभएको थियो । तालिम वडा कार्यालयको डेढ लाख बजेटमा सञ्चालन भएको हो ।