टीकापुरमा कंग्रेस सुध्रन जरुरी छ

सम्पादकीय
टीकापुरमा नेपाली कांग्रेस सुध्रन जरुरी छ । पार्टीमा सुधारको आवश्यक्ता छ । यस क्षेत्रमा नेपाली कांग्रेस बलियो छ । अरु पार्टीको हालत त्यति राम्रो छैन । भोटको दृष्टिकोणले कांग्रेसको उम्मेदवार जिताउन खासै समस्या छैन तर आपसमा भोट नहाल्ने बानीले कांग्रेस सधै हार्छ । कांग्रेसको सुबिधा र अवसर खाएकाहरु नै पछिल्लो समय समस्याका रुपमा देखिएका छन् । सुबिधा र अवसर खाएकाहरु एकअर्कालाई स्विकार गर्दैनन् भने अर्काे तर्फ पार्टीमा भरखर आएका युवाहरु पार्टीले के दियो भनेर हिसाव किताव गर्न थाल्छन् । यसरी हिसाव किताव गर्ने स्वार्थि युवाहरुका कारण पार्टीमा अराजकता बढ्न थालेको छ । यस क्षेत्रमा जनजाती भोट बढी छ । जनजाती कांग्रेसमा पनि छन् । एमालेमा जनताजातीको भोट अतिन्यून छ । माओवादीमा पछिल्लो समय बिश्वास घटन थालेको छ । नागरिक उन्मुक्ति पार्टीले यही अवस्थामा अर्काे निर्बाचनसम्म जनताको मन जित्नु भन्दा पनि गाउँ पस्न पाउने वातावरण बन्दैन । भोट दिएका नागरिकले के पायौं भनेर हिसाव खोज्ने निश्चित हो । साढे तीन बर्ष छ , नागरिक उन्मुक्तिले विकासका काम ग¥यो भने सबैलाई राम्रो हुन्छ । विकास भयो भने नागरिक उन्मुक्तिले फेरी पनि निर्बाचन जित्न सक्ने अवस्था हुन्छ । यस्तो अवस्थामा नागरिक उन्मुक्ति र नेपाली कांग्रेसबीच निर्बाचनमा प्रतिस्प्रधा हुन्छ । निर्बाचनमा सक्षम नेतृत्व चयन गर्नुपर्ने बाध्यता हुन्छ । सक्षम नेतृत्व चयन गर्दा कांग्रेसलाई निर्बाचन जित्न अरु पार्टीलाई भन्दा सहज हुन्छ । यो अवसर लिनका लागि कांग्रेसमा छवि बचाएका कार्यकर्ता एक हुन जरुरी छ । आय आप गए झटारो र जनताको नजिक नजाने ठालूहरुबाट अव कांग्रेस बलियो हुँदैन । पार्टीमा लगानी गरेको भन्दैमा समाजले बहिस्कार गर्ने व्यक्तिलाई अघि लगाएर कांग्रेस भोट पाउँदैन । समाजले बहिष्कार गरेका व्यक्तिहरु यो वा उ बहानामा टाउको उठाउने र आवश्यक परेको बेला पार्टीलाई धोका दिनेहरुबाट सचेत हुन जरुरी छ । टीकापुरको समाज टीकापुरले मिलाउने हो । लम्की , धनगढी या बर्दियाबाट आएर टीकापुरको सामाजिक समस्या समाधान हुँदैन । आपसमा मिलेर एकअर्काको अस्तित्व स्विकार गर्दै टीकापुरको बृहत्तर हितका लागि सकेजति योगदान गरौं । यसैमा टीकापुर क्षेत्रको भलाई छ ।